arin enterprises

मातातीर्थ आयुर्वेद अस्पतालमा शल्यक्रिया सेवा थालनी

SamacharDesk – बिराज | २०८२ बैशाख २६, शुक्रबार

चन्द्रागिरि नगरपालिका–८ स्थित मातातीर्थ आयुर्वेद तथा वैकल्पिक चिकित्सा अस्पतालमा शल्यक्रिया सेवा (अप्रेशन थिएटर ) र पोष्ट अप्रेशन वार्डको सुरुवात भएको छ ।

नगर प्रमुख घनश्याम गिरिले बिहिवार उक्त शल्यक्रिया सेवा र पोष्ट अप्रेशन वार्डको शुभारम्भ गरे । अस्पतालले पञ्चकर्म र क्षारसुत्र सेवालाई अझ गुणस्तरीय बनाउन शल्यक्रिया सेवा सञ्चालनमा ल्याएको बताएको छ ।

समारोहमा चन्द्रागिरि नगरपालिका प्रमुख गिरीले  नगरले ‘एलोपेथिक’ उपचार र आयुर्वेद चिकित्सा दुवै सेवालाई एकै साथमा अगाडि बढाउँदै ‘स्वस्थ नगर र स्वस्थ नगरवासी’ बनाउने उद्देश्यसहित स्वास्थ्य सेवालाई उच्च प्राथमिकता दिएको बताए ।

अस्पतालका प्रमुख डा. नारायण आचार्यले शल्यक्रिया कक्ष सञ्चालन भएसँगै अस्पतालले थप विशेषज्ञ सेवासमेत प्रदान गर्ने बाटो खुला भएको जानकारी दिए ।

उहाँका अनुसार अस्पतालमा पञ्चकर्म सेवा अन्तर्गत पाइल्स, फिस्टुला र फिसरको शल्यक्रिया हुन्छ ।

पहिलो चरणमा साताको एकदिन शल्यक्रियाको व्यवस्था रहेको र बिरामीको चाप र मागका आधारमा क्रमशः दैनिक शल्यक्रियाको व्यवस्था मिलाउने योजना रहेको डा. आचार्यले बताए ।

अस्पतालले दैनिक बहिरङ्ग सेवा (ओपिडी) र सातामा एकदिन विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । पञ्चकर्मअन्तर्गत (बमन, बिरेचन, वस्तिकर्म, नश्य कर्म र रक्तमोक्षण) पूर्व कर्मका विभिन्न सेवा अस्पतालले प्रदान गरिरहेको छ ।

अस्पतालको आफ्नै जडीबुटी उद्यान पनि छ ।

Categorized in स्थानीय
SKIP THIS buddhan jayanti 2082