arin enterprises

१४ वर्षीय गायक महर्जनको ‘सुस्तरी’ सार्वजनिक

SamacharDesk – बिराज | २०८० श्रावण ८, सोमबार

ऐतिहासिक नगरी कीर्तिपुरका १४ वर्षीय गायक एरोन महर्जनको नयाँ गीत ‘सुस्तरी’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गत शुक्रबार कीर्तिपुरमा आयोजित एक कार्यक्रममा बाल गायक महर्जनको गीत ‘सुस्तरी’ म्यूजिक भिडियो सार्वजनिक भएको हो । बागमति प्रदेशका पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जनले म्यूजिक भिडियो सार्वजनिक गरे ।

गीत सार्वजनिक पछि मन्तव्यको क्रममा मन्त्री महर्जनले एरोनले सानै उमेरमा देखाएको प्रतिभाको खुलेर प्रशंसा गरे । मन्त्री महर्जनले कला संस्कृति, भाषको उत्थान गर्न गीतसंगीत निर्माण गर्न पनि आग्रह गरे ।

‘स्थानीय कला, साहित्य, संस्कृति, भाषाको उत्थान होस् । यस किसिमको गीत, भिडियो निर्माण गर्न प्रदेश, स्थानीय र केन्द्रीय सरकारबाट सहयोग ल्याउन म पहल गर्नेछु’ मन्त्री महर्जनले भने ।

कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, स्थानीय समाजसेवी राजकमल महर्जनलगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा सार्वजनिक गरिएसँगै यो म्यूजिक भिडियो गायक एरोनकै युट्युब च्यानलमार्फत विश्वव्यापी सार्वजनिक भएको छ ।

म्यूजिक भिडियोमा लूमिला जोशीको साथमा गायक एरोन आफैंले अभिनय पनि गरेका छन् । टीन एज लभको कथावस्तुमा आधारित म्यूजिक भिडियोको परिकल्पनाकार गायक एरोनकै आमा राज्यलक्ष्मी महर्जन हुन् ।

कलरिङ्ग, दृश्य सम्पादन र निर्देशन युवा निर्देशक योवन शाक्यले गरेका छन् ।

एरोनको यस अघिको अवार्ड विजेता नेपालभाषाको म्यूजिक भिडियो ‘यःमां’ को निर्देशन पनि शाक्यले नै गरेका थिए । यसै गीतबाट गायक महर्जनले पेजथ्री नेपालभाषा पिपल्स च्वाइस अवार्ड र नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड जितेका थिए ।

कोरीयाग्राफी अन्नु महर्जनले र छायाङ्कन दिनेश महर्जनले गरेका छन् । गीतको रचना र संगीत भुवन महर्जनको रहेको छ ।

Categorized in पेजथ्री