श्री स्वस्थानी व्रत कथा आजबाट आरम्भ
SamacharDesk – Ram Dangol | २०७९ पौष २२, शुक्रबार

हिन्दु धर्मावलम्बीहरुले आजबाट श्री स्वस्थानी व्रत तथा कथा श्रवण सुरु गरेका छन् । आजदेखि माघ महात्मे अन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को आरम्भ हुन्छ ।
पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म गरी एक महिनासम्म रहन्छ । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् ।
महिला–पुरुष दुवैले समान रूपमा स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिने गर्दछन् ।
यसरी व्रत लिँदा एक छाक चोखो खाने र अर्को छाक कन्दमूल वा फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् ।
आज विहान तीर्थस्थलमा पुगी नुहाई धुवाई गरेर ब्रतु शुरु गर्ने गरिन्छ । स्वस्थानी कथा अनुसार स्वस्थानी व्रत सुरुमा नारायण विष्णु, त्यसपछि पार्वती, गंगा, अप्सरा, गोमा, नागनागिनी, चन्द्रावती, नवराज हुँदै सर्वसाधारणमा व्रत सुरु भएको धार्मिक मान्यता छ ।
काठमाडौँको साखुस्थित शाली नदीमा आज विहानैदेखि भक्तजनहरुको भीड लागेको छ । सालीनदीको पानीले नुहाएमा विभिन्न रोग नष्ट हुने, रोग लागेकाको रोग निको हुने र शारीरिक तथा मानसिकरूपमा स्वस्थ रहने धार्मिक आस्था र विश्वास छ ।
यहाँ अबको महिनासम्म श्री स्वस्थानी मेला लाग्ने गर्दछ । संस्कृतिविद्हरुका अनुसार स्वस्थानी ब्रतका अवसरमा नारायण भगवानलाई माधव नारायणको रुपमा पुज्ने गर्दछ । स्वस्थानीलाई माधव नारायण भन्नुको विभिन्न कारण छन् ।
१२ महिनामा नारायण विष्णु भगवानले विभिन्न रूप लिनु हुने मान्यता छ । जसअनुसार बैशाखमा मधुसुदन नारायण, जेठमा त्रिविक्रम नारायण, आषाढमा वामन नारायण, श्रावणमा श्रीधर नारायण, भाद्रमा ऋषिकेश नारायण, असोजमा पद्मनारायण, कार्तिकमा दामोदर नारायण, मंसिरमा केशव नारायण, पौष महिनामा नारायण, माघमा माधव नारायण, फाल्गुणमा गोविन्द नारायण र चैत्र महिनामा विष्णुरूप लिनुहुने हुँदा माघ महिनामा नारायणको नाम माधव हुने भएकाले माधव नारायणको नामले माघ महिनाभर पुज्ने परम्परा चल्दै आएको हो ।
सुस्वास्थ्य, शान्ति र शिवजस्तो स्वामी र पुत्रलाभको कामना गर्दै शालीनदीमा महिलाहरु व्रत बस्ने परम्परा पुरानो हो । पहिले पहिले नेवार समुदायका महिलामा मात्र प्रचलन रहेको यो व्रत अचेल विभिन्न समुदायका महिला र पुरुषसमेतले व्रत लिने गरेको पाइन्छ ।
Categorized in संस्कृति