रघुवंशीबाट पशुपतिनाथमा शिवसती नृत्य प्रस्तुत
SamacharDesk – बिराज | २०७९ फाल्गुण ७, आइतबार

नृत्यकार साथमा नृत्य निर्देशक स्वजन रघुवंशीले यस वर्ष पशुपतिनाथमा शिव सती नृत्य नाटिका प्रस्तुत गरेका छन् । गत पाँच वर्षदेखि शिवरात्रीको अवसरमा पशुपतिमा नृत्य प्रस्तुत गर्दै आएको नृत्यकार रघुवंशीले यस वर्ष शिव सती नृत्य प्रस्तुत गरेका हुन् ।
करीब आधा घण्टाको प्रस्तुतिमा रघुवंशी शिव बनेर प्रस्तुति दिएका थिए भने उनलाई नृत्यकार उषा रजकले सती बनेर साथ दिएका थिए ।
रघुवंशीको परिकल्पना र नृत्य निर्देशनमा लाइभ वाद्यवादनमै नृत्य प्रस्तुति दिइएको थियो ।
लाइभ वाद्यवादनमा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरका कलाकारहरुले साथ दिएका थिए । सो क्रममा गायनतर्फ दिपेन्द्र बज्राचार्य थिए भने तलबामा नरेश प्रजापति, खिं बाजामा न्हूछेँ मुनिकार, बाँसुरीमा गंगा आरतीका महासचिव दुर्गाप्रसाद खतिवडा थिए ।
पशुपतिनाथको आरतीको क्रममा रघुवंशीले शिव ताण्डवसमेत प्रस्तुत गरेका थिए ।
पाटन सुन्धारास्थित क्लासिक कल्चर सेन्टरको आयोजनामा भएको नृत्य कार्यक्रममा सोही सेन्टरमा रघुवंशीका १६ जना विद्यार्थीहरुले कोरस डान्समा साथ दिएका थिए ।
सोही कार्यक्रममा भारत छत्तीसगढको खैरागढस्थित इन्दिरा कला संगीत विश्वविद्यालयमा कत्थक नृत्यमा विद्यावारिधी गर्दै गरेका सम्राट चौधरीले समेत प्रस्तुति दिएका थिए । नृत्यकार रघुवंशी पनि हाल सोही विश्वविद्यालयबाट नृत्यमै विद्यावारिधी गरिरहेका छन् ।
