arin enterprises

आजबाट स्वस्थानी व्रत कथा सुरु, शालिनदीमा मेला

SamacharDesk – बिराज | २०८२ पौष १९, शनिबार

आज पौष शुक्ल पुर्णिमा, सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आजबाट सुरु हुँदैछ ।

व्रत बस्न सक्नेहरु आजबाट श्री स्वस्थानीको व्रत बस्ने गर्छन् भने व्रत बस्न नसक्नेहरुले कम से कम आजैबाट माघ महात्म्य अन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ श्रवण गर्ने गर्छन् ।

सनातन धर्मालम्बीहरुले आजबाट घरघरमा नित्य स्नान गरी चोखो भई श्री स्वस्थानी कथा वाचन र श्रवण गर्ने गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गर्दै माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ ।

स्कन्दपुराण, केदारखण्ड, माघ महात्म्य अन्तर्गतको स्वस्थानी व्रत कथाको क्रममा सतीदेवी महादेवको विवाह, सतीदेवी दक्ष प्रजापतिको यज्ञमा होमिनु, अंग पतन, महादेव पार्वतीको विवाह, सात वर्षकी गोमा ब्राह्मणीको ७० वर्षका शिवशर्माको विवाह, नवराजको जन्म, नवराज लावण्य देशको राजा बन्ने आदि कथाहरु रहेका छन् ।

श्री स्वस्थानीप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ ।

साथमा आजैबाट काठमाडौं १७ किलोमिटर उत्तरपूर्वमा दिशामा अवस्थित साँखुको शालीनदीमा मेला पनि सुरु हुँदैछ । यहाँ श्रद्धालु भक्तहरु महिनाभर माधवनारायणको कठोर व्रत बस्ने गर्छन् ।

शालीनदीमा यस वर्ष महिला १६७ र पुरुष ८ जना गरी जम्मा १७५ जना व्रतालुहरु व्रत बसेका छन् ।

माधवनारायणको व्रत एक महिना पुरै बस्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । यो महिनाभर शालीनदीमा मेला भर्न जाने श्रद्धालु भक्तहरुको संख्या पनि ठुलै रहन्छ ।

भक्तपुरको हनुमानघाटमा स्वस्थानीको व्रत बस्ने परम्परा रहेको छ । कतिपय संस्कृतिविद्, अध्येताहरुले त शालीनदीको भन्दा भक्तपुरको स्वस्थानी व्रतको परम्परा अझ पुरानो भएको दावी गर्छन् ।

Categorized in संस्कृति