arin enterprises

आजबाट स्वस्थानी कथा शुरु

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०७८ माघ ३, सोमबार

आज पौष शुक्ल पुर्णिमा, आजको  दिनबाट घरघरमा श्री स्वस्थानीको कथा वाचन शुरु हुँदैछ ।

आजबाट प्रत्येक हिन्दु धर्मावलम्बीको घरघरमा श्री स्वस्थानी कथा वाचन गरिन्छ । बेलुकीपख परिवारको सबै सदस्य एकै ठाउँमा भेला हुने र घरको मूलीले कथा वाचन गर्दै सबैलाई कथा सुनाउने गरिन्छ ।

जम्मा ३१ अध्यायको स्वस्थानी कथा वाचनको क्रममा आजबाट एक महिनासम्म प्रत्येक दिन एउटा अध्याय पाठ गर्ने गरिन्छ । कथा पाठ गरेपछि परिवारका प्रसाद बाँडेर खाने गरिन्छ ।

स्कन्दपुराण अन्तर्गत केदारखण्डमा परेको स्वस्थानी व्रत कथामा महादेव र सतीदेवीको विवाहदेखि सतीदेवी दक्षप्रजापतिको हवनमा होमिने, गोमा व्राम्हणीको कथा, गोमाका छोरी नवराज लावण्य देशको राजा हुने, चन्द्रावतीले स्वस्थानीको प्रसादको अपमान गर्दा पाएको दुःख, स्वस्थानी व्रत बसेपछि चन्द्रावती पापमुक्त हुने आदि कथाहरु रहेका छन् ।

पुराना परम्परामा गोमा व्राम्हणी र नवराजको कथा मात्र रहेको र पछि हुँदै महादेव, सतीदेवीको कथा पनि यसमा जोडिएको भनाई विद्वानहरुको रहेको छ ।

अहिलेसम्म भेटिएको सबभन्दा पुरानो स्वस्थानी कथा सन् १५७३ को हो, जुन संस्कृतमा थियो । त्यसपछि सन् १६०३ मा नेपालभाषामा लेखिएको कथा भेटिएको थियो ।

हाल आएर परमेश्वरीको रुपमा लिइ स्वस्थानी माता भनी पुकार्ने गरिएको पाइन्छ । तर स्वस्थानीको कथामा स्वस्थानी देवीको कुनै प्रकारले वर्णन नगरिएको जानकारहरु बताउँछन् ।

स्व भन्नाले आफु भन्ने अर्थ लाग्ने र आफ्नो स्थानको देवी वा देवतालाई नै स्वस्थानी भन्ने गरिएको विद्वानहरु बताउँछन् । 

Categorized in संस्कृति