arin enterprises

सम्भोगको प्रतिकात्मक रूप हो पनौतिको जात्रा

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ३१, मंगलबार

पनौतिको जात्रा जेष्ठ पुर्णिमाको दिनलाई पनौतिमा धुमधामसँग मनाउने गरिन्छ । जेष्ठ पूर्णिमाको जात्रा नै पनौतिको मुख्य जात्रा हो । यो दिनमा भद्रकाली र उन्मत्त भैरवको रथ जात्रा गर्ने गरिन्छ ।

जात्राको क्रममा भद्रकाली, भैरवको रथलाई तानेर एक आपसमा जुधाउने गरिन्छ । खासमा यसरी दुई रथलाई जुधाउनुलाई भद्रकाली र भैरवको यौन समागमको रुपमा लिइन्छ ।

जेठ पुर्णिमाको दिनमा सम्पूर्ण पनौतीबासीको साथमा संस्कृति प्रेमीहरु उन्मत्त भैरव र भद्रकालीको यहि यौन समागममा रमाउने गर्छन् ।

जात्राको क्रममा भैरव र भद्रकालीलाई छुट्टाछुट्टै रथमा राखी दुवै रथलाई तानेर पुलिसपाटी भन्ने स्थानमा पुर्‍याइ भेट गराइन्छ र दुवै रथ एक आपसमा ठोक्काउने गरिन्छ ।

यो जात्रा, परम्पराको विषयमा समाजमा एउटा रमाईलो किम्वदन्ति प्रचलित छ । किम्वदन्ती अनुसार जेठ पूर्णिमाको दिनमा भद्रकालीले आफु एक्लैमा ६४ योगिनीको रुप धारण गरी काम उत्तेजनामा लिप्त भई महादेवलाई लखेट्छिन् ।

महादेव भागेर गई त्रिवेणीमा हामफाल्छन् र लुक्छन्, तर त्यहाँ पनि लखेट्दै भद्रकाली आइपुगेपछि महादेवले उन्मत्त भैरवको रुपधारण गरे ।

यसपछि भने भद्रकाली त्यहाँबाट भाग्न पुग्छिन् र महादेवले लखेट्न थाल्छन् । यसरी लखेट्दै गर्दा एक ठाउँ पुगेपछि उन्मत्त भैरवले भद्रकालीलाई भेट्टाउँछन् र दुवैबीच ३ पटक सम्भोग हुन्छ ।

यसै किम्वदन्तिलाई आधार मानेर आजसम्म पनौतीमा भद्रकाली र भैरवको जात्रा निरन्तर चल्दै आएको छ । यसरी जात्रा मनाउँदा भैरव र भद्रकालीको ३ पटक सम्भोगकै प्रतीक स्वरुप दुवै रथलाई ३ पटक ठोक्काउने गरिन्छ ।

रथ जुधाइसँगै अविर जात्रा पनि हुन्छ । भैरवले लखेट्दै गरेका भद्रकाली भैरव र ईन्द्रेश्वर महादेवको बीच पर्छन् ।

यस्तो अवस्थामा भैरवको रथले भद्रकालीको रथलाई पछाडिबाट ठक्कर दिन्छन् भने अगाडिबाट आएका ईन्दे्रश्वर महादेवले पनि अगाडिबाटै धकेल्छन् । सोही क्रममा ब्रम्हायणीले भने शान्त स्वभाव प्रस्तुत गर्छिन् ।

यौनजन्य प्रस्तुतिका रुपमा लिइने रथ जुधाउने कार्यमा भक्तजनहरुको तछाड मछाड हुने गर्छ । जात्राको माहौल गर्मिदै गएसँगै भक्तजनहरुको जोश पनि झनै बढ्ने जान्छ ।

एउटा हिसाबले भन्नुपर्दा यो जात्रामा यौनजन्य क्रियाकलाप प्रस्तुत गरिने भयो, भैरव र भद्रकालीको सम्भोग ।

हाम्रो संस्कृति हेरौं न, यौनक्रीडा प्रस्तुत गर्नुपर्ने, त्यो पनि सार्वजनिक रुपमा जात्रा नै गर्दै । सुन्दा त अचम्म लाग्न सक्छ, अझ भनौं अश्लिल लाग्न सक्छ ।

तर यस्तो क्रियाकलाप पनि हामी कति सभ्य र श्लील तरीकाले प्रस्तुत गर्छौं । यौनक्रीडा प्रदर्शन गर्नुपर्ने भएकोले पहिले पहिले झिसमिसे अगावै रथ जुधाइने गरिन्थ्यो भन्ने भनाई छ ।

यौनक्रिडासँग सरोकार राख्ने जात्रा भएकाले मध्यरातदेखि झिसमिसेको बीचमा सम्पन्न गर्नुपर्ने मान्यता रहिआएको थियो । पनौती जात्रामा चिउरी र केरा खाएर घुम किन्नुपर्ने मान्यता छ ।

यस अवधिभर पाहुना बोलाइ स्वागत सत्कारका साथ भोज ख्वाउने प्रथा आजसम्म पनि कायमै छ ।

लाय्कू चोकमा भगवान उन्मन्त भैरव, भद्रकाली र भगवान इन्द्रेश्वर महादेवको प्रतीकात्मक संभोगपछि इन्द्रेश्वर महादेवलाई हातमा बोकेर मन्दिरसम्म पुर्‍र्याइन्छ ।

यो क्रममा एउटा रोचक र रमाईलो विश्वास भनौं वा मान्यता रहेको छ । इन्द्रेश्वर महादेवको खटमा रहेका पुजारीलाई खटबाट खसाउन सकियो भने पुजारीले मन्दिरमा १ तोला सुन चढाउन पर्ने परम्परा पनि रहेको छ ।

उन्मत्त भैरव र भद्रकालीका दुबै रथहरू सहरको पूर्वी छेउमा तानिन्छ । त्यहाँबाट उन्मन्त भैरवको रथलाई दक्षिणतर्फ तानेर मन्दिरमा लगिन्छ भने भद्रकालीको रथलाई शहरको प्रवेशद्वारमा रहेको द्यःछेँमा फर्काइन्छ ।

यी सबै काम मध्याह्नमा पूरा हुन्छ । साँझ लाय्कु पुलिस पाटीबाट चिराग बालेर बाजागाजाका साथ खटमा राखी सोर्‍हखुटे पाटी अगाडी द्यःछेँमा पुर्‍याइन्छ ।

Categorized in संस्कृति
SKIP THIS maharjan complex bumper adv