टेबल टेनिस च्याम्पियन नविताकाे एकेडमि शुरू
SamacharDesk – बिराज | २०७७ माघ २०, मंगलबार

टेबल टेनिसमा ८ पटकसम्म राष्ट्रिय च्याम्पियन बनेकी नविता श्रेष्ठ (महर्जन) ले टेबल टेनिस एकेडमि संचालनमा ल्याएकी छन् ।
टेबल टेनिस जगतमा नयाँ पुस्ता तयार गर्ने उद्देश्य सहित नबिताले काठमाडौको खुसिबुँस्थित पलेस्वां मार्गमा स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमी संचालनमा ल्याएकी हुन् ।
सोमबार एक कार्यक्रमका बीच नेपाल ओलम्पिक कमिटिका अध्यक्ष सांसद जीवनराम श्रेष्ठले एकेडमिको समुद्घाटन गर्नुभयो ।
एकेडमि समुद्घाटनको अवसरमा बोल्दै नविताले कति राम्रा खेलाडीहरुले पनि आर्थिक अभावका कारण बीचमै खेल छोडेको देखेको बताउँदै त्यस्तै समस्यामा परेका खेलाडीहरुलाई एकेडमिले सहयोग गर्ने भनिन् ।
खेलाडीहरुको लागि विभिन्न विद्यालयहरुमा छात्रबृत्तीका लागि पहल गर्नुका साथै छात्राबास समेत संचालन गर्ने सोचमा रहेको नबिताले सुनाइन् ।
ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेलाडीले आफ्नो व्यक्तिगत जीवन यापनको विषयलाई मात्र नसोची समग्र खेल जगतकै उत्थानलाई प्राथमिकता दिनु प्रशंसनीय भएको विचार राख्नुभयो ।
नेपाल टेबलटेनिस संघका अध्यक्ष साथै एनओसीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्द राजबैद्यले खेल क्षेत्रमा संचालित सबै एकेडमिहरुले स्तरीय खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
एकेडेमीमा हाल ६ वटा टेबल टेनिस बोर्ड रहेको छ भने ३ वटा संचालनमा छ । एकेडेमीमा नविताबाहेक राकेश महर्जन र एलिना महर्जनले पनि प्रशिक्षण दिन्छन् ।
Categorized in स्पाेर्ट्स