arin enterprises

अधिवक्ता पाण्डेको भनाईप्रति तामाङ घेदुङको आपत्ती

SamacharDesk – बिराज | २०८० श्रावण ८, सोमबार

एउटा टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता भगवती पाण्डेले दिएको अभिव्यक्तिप्रति नेपाल तामाङ घेदुङले आपत्ती जनाएको छ । हाडनाताभित्र हुने विवाहले अपराध बढाएको भनी अधिवक्ता पाण्डेले दिएको अभिव्यक्तिप्रति तामाङ घेदुङले आपत्ती जनाएको हो ।

आज सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै घेदुङले पाण्डेको अभिव्यक्तिप्रति आपत्ती र खेद व्यक्त गरेको हो । सो विज्ञप्तीमा राष्ट्रियस्तरको टेलिभिजनबाट प्रसारित उक्त अभिव्यक्तिले तामाङ समुदायको संस्कृतिबारे जनमानसमा गलत सन्देश प्रवाह हुन गएको बताइएको छ ।

‘कुनै पनि जाति समुदायको विषयमा सार्वजनिक सञ्चारमाध्यमबाट अभिव्यक्ति दिँदा उक्त सुमदायको इतिहास, संस्कार, संस्कृति र तथ्यहरुलाई बंग्याएर गलत रुपमा प्रस्तुत गर्नु पनि अपराध नै ठहरिने कुरा अधिवक्ता पाण्डेलाई ध्यानाकर्षण गराउन चाहन्छौं’ विज्ञप्तीमा भनिएको छ ।

सोही विज्ञप्तीमार्फत उक्त अभिव्यक्तिबाट तामाङ समुदायको अस्मितामा पर्न गएको चोटप्रति सार्वजनिक रुपमा माफी माग्न अधिवक्ता पाण्डेलाई आग्रह गरिएको छ ।

साथै उक्त अन्तर्वार्ता फेसबुक, युट्युबलगायतका सामाजिक संजालबाट हटाउन पनि टेलिभिजन च्यानललाई हटाउन र सच्याइएको सामग्री प्रसारण गर्नसमेत आग्रह गरिएको छ ।

प्राइमटाइम टेलिभिजनको चिया गफ नामक टक शोमा अधिवक्ता पाण्डेले यस्तो अभिव्यक्ति दिएका थिए ।

Categorized in समाज