लतिलपुर उद्योग वाणिज्य संघमा ताम्रकारको दावी
SamacharDesk – बिराज | २०८० भाद्र १७, आइतबार

ललितपुर उद्योग वाणिज्य संघका पूर्व वरिष्ठ उपाध्यक्ष रविन्द्र राज ताम्रकारले विगतको अनुभवको आधारमा संघको विशेषता, चुनौती र अवसरलाई सुक्ष्म रुपमा केलाउन सक्ने क्षमता आफुसँग रहेको दावी गरेका छन् । संघमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गर्दै ताम्रकारले यस्तो दावी गरेका हुन् ।
एक विज्ञप्ती जारी गर्दै ताम्रकारले संघमा अग्रज र अनुभवीलाई साथसाथै लिएर नयाँ पुस्तालाई समेटेर जाने क्षमता आफुसँग रहेको दावी गरे ।
‘आफ्नो समग्र अनुभव, ज्ञान, फराकिलो सम्वन्धको निचोडको रुपमा निजी क्षेत्रलाई सामाजिक उत्तरदायित्वसहित व्यावसायिक हितको सवालमा अघि डोर्याउने मुख्य लक्ष्य लिएर निर्वाचनमा होमिएको छु’ संघका पूर्व वरिष्ठ उपाध्यक्ष ताम्रकारले भने ।
आफ्नो ध्येय र एजेन्डा अहिलेसम्मको कार्यले देखाइसकेको र अब एक पटक अध्यक्ष भएर संघको इतिहासको गौरवलाई कायम राख्दै संघको उचाईलाई माथि पुर्याउने दृढता रहेको पनि उनले भने ।
यहि आउँदो असोज १९ र २० गते संघको ४४औं साधारण सभा हुन गइरहेको छ । ५६ वर्षको इतिहास बोकेको संघमा विभिन्न समयमा आफुले पुर्याएको योगदानको आधारमा आफुलाई अध्यक्ष पदको लागि योग्य ठानेको भन्दै ताम्रकारले उम्मेदवारी घोषणा गरेका हुन् ।
को हुन् रविन्द्र राज ताम्रकारः
ताम्रकार पुस्तौंदेखि पित्तल व्यवसायमा संलग्न रहेर हस्तकला क्षेत्रका साथसाथै विभिन्न सामाजिक गतिविधिहरुमा सक्रिय छन् ।
२०२३ सालमा स्थापित ललितपुर उद्योग वाणिज्य संघमा ताम्रकार २०५१ सालमा सदस्य भएका थिए । यसपछि पूर्वअध्यक्षद्वय नरेश कुमार श्रेष्ठ र मृगेन्द्रमान प्रधानको कार्यकालमा कार्यसमिति सदस्य र संगठन विस्तार तथा प्रचारप्रसार संयोजक भएर संघमा योगदान दिएका थिए ।
अजरमान जोशीको कार्यकालमा प्रथम उपाध्यक्ष बनेका थिए भने सविन श्रेष्ठको कार्यकालमा वरिष्ठ उपाध्यक्ष पदमा रहेका संघमा काम गरेका थिए ।
अन्य संस्थाको कुरा गर्ने हो भने नमूना मच्छिन्द्र मा.वि.को पूर्व विद्यार्थी संघमा दुई कार्यकाल अध्यक्ष बनिसकेका छन् । चक्रवर्ती पुस्तकालय र चक्रवर्ती युथ क्लबमा पनि दुई कार्यकाल अध्यक्ष बनेर संस्थालाई योगदान दिएका छन् ।
ताम्रकार समाजमा २०५७ सालदेखि विभिन्न पदमा रहेर काम गर्दै दुई कार्यकाल अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन् ।
