arin enterprises

उडान नै नभएको जहाज सम्पर्क विहिन भएको हल्ला

SamacharDesk – बिराज | २०८१ आषाढ १८, सोमबार

तारा एअरले आफ्ना कुनै पनि जहाज सम्पर्क विहिन नभएको र भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।

पोखराबाट जोमसोमको लागि उडेको तारा एअरको विमान सम्पर्कविहीन भएको भन्ने खबर सामाजिक संजालमा देखिन थालेपछि तारा एअरले एक विज्ञप्ती जारी गर्दै यस्तो भनेको हो ।

विज्ञप्तीमार्फत ताराले केही अनलाइन पत्रिका र र गलत मनशायको व्यक्तिले बदनियतपूर्वक सामाजिक संजालमा यस्तो हल्ला चलाएको दावी गरेको छ ।

आज दिउँसो करीब एक बजेतिर सामाजिक संजालमा केही पेजहरुले ‘तारा एअरको पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्क विहिन’ भनेर पोस्ट गरेका थिए ।

यो पोस्ट देखेपछि कैयनले उक्त पोस्टलाई शेयर पनि गरे भने कपि गर्दै आफ्नो वालमा स्टाटस अपडेट गरे ।

सामाजिक संजालमा यस्तो पोस्टहरु देखिन थालेपछि आज दिनको २ः२६ बजे विज्ञप्ती जारी गर्दै आफ्नो कुनै विमान सम्पर्क विहिन नभएको प्रष्ट गरेको हो ।

तारा एअरले हाल जोमसोममा कुनै उडान गर्ने गरेको छैन । यात्रुको चाप घटेसँगै गत जेठ ३१ गतेबाट नै ताराले पोखराबाट जोमसोमको उडान बन्द गरेको थियो ।

हुँदै नभएको उडानलाई लिएर यस्तो प्रचार गरिँदा समग्र मुलुककै उड्डयन क्षेत्रको दुष्प्रचार भएको टिप्पणी अहिले हुँदैछ ।

यसै क्रममा गलत समाचार सम्प्रेषण गर्ने र बदनियतपूर्वक सामाजिक संजालमा भ्रम फैलाउने विरुद्ध कानूनी कारवाही समेत अगाडी बढाउने तारा एअरले जनाएको छ ।

Categorized in राष्ट्रिय