arin enterprises

सहमति बनिसकेको अवस्थामा असम्वन्धित समूहले रथ तानेको भन्दै कार्यदलको आपत्ती

SamacharDesk – बिकाश | २०७७ भाद्र १८, बिहिबार

ललितपुरको रातो मच्छिन्द्रनाथको जात्रा सम्पन्न गर्न बनेको बुंगद्यः जात्रा व्यवस्थापन कार्यदलले जात्रालाई सम्पन्न गर्ने सहमति बनिसकेको अवस्थामा असम्वन्धित समूहले रथ तान्ने प्रयास गरेर स्थिती अराजक बनेको भन्दै खेद व्यक्त गरेको छ । 

कार्यदलले विज्ञप्ती जारी गर्दै कोभिड संक्रमणको अवस्थालाई मध्यनजर गरेर निषेधाज्ञा जारी रहेको समयमा आधिकारीकता विनाको असम्वन्धित समूहले रथ तान्ने प्रयास गरेको भन्दै खेद व्यक्त गरेको हो ।

असम्वन्धित समूहले रथ तान्ने प्रयास गर्दा स्थिती अराजक बनेको भन्दै यसमा ललितपुरका १९ वटै जातीय खलःपुचःको ध्यानाकर्षण भएको पनि कार्यदलले जनाएको छ ।

मच्छिन्द्रनाथको जात्रा कसरी सुरक्षित ढङ्गले सम्पन्न गर्ने भनी योजना बनाई सुझाव दिनका लागि लतिलपुरका १९ वटा जातीय संघसंस्था सम्मिलित कार्यदल बनेको छ भने उक्त कार्यदलमा ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जन संयोजक रहेका छने ।

कार्यदलबाट जारी विज्ञप्तीमा गत भाद्र ११ गते ज्यापु समाज यलमा सरोकारवालाको विशेष वैठकले मलमास अगावै जात्रा सम्पन्न गर्ने विषयमा छलफल भएको र सोही अनुसार गुठी संस्थानको प्रधान कार्यालयबाट विज्ञहरुसँग परामर्श गरी आएको निचोड उपर जातीय खलःपुचःहरु, रकमी लगायत अन्य सम्वन्धित सबैको उपस्थितीमा हुने वैठकबाट पारित गर्ने सहमति भएको समेत जनाएको छ ।

सोही विज्ञप्तीमार्फत कोभिड संक्रमणको परिस्थितीलाई मध्यनजर गरी सबैको सहमतिमा यो साल हाल रथ भएकै स्थानमा सबै विधि प्रक्रिया पूरा गरी जात्रा सम्पन्न गर्ने कार्यदलले जानकारी दिएको छ ।

कार्यदलबाट जारी विज्ञप्ती अनुसार आउँदो १९ गते क्षमा पूजा गरिनेछ भने २१ गते सोहखुट्टे पाटिसम्म रथ तान्ने र छ्वयलाभू गर्ने, २२ गते भुज्याः मनाउने र साइत हेर्ने तय भएको छ भने साइत प्राप्त भएको दिन मच्छिन्द्रनाथलाई बुंगमति प्रस्थान गराइने भएको छ ।

Categorized in संस्कृति