arin enterprises

देशभरका शिवालय मन्दिरमा तिजको रौनक

SamacharDesk | २०७९ भाद्र १४, मंगलबार

आज नेपाली महिलाहरुको महान पर्व तीज । आजको दिन महिलाहरु दिनभर निराहार ब्रत बसेर भगवान महादेवको पूजा आराधना गर्ने गर्दछन् ।

पशुपतिनाथसहित देशभरका शिवालयहरुमा पूजाआजा गरी यो पर्व मनाउने गर्दछ । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा महादेवको पूजा आराधना गरिन्छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

यस दिन ब्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ । विवाहिता महिलाहरुले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरुले योग्य बरको कामना गर्दै ब्रत बस्ने गर्दछन् ।

तीजलाई नारीहरुको हर्ष र स्वतन्त्रताको चाडका रुपमा पनि लिइन्छ । विवाहित वा अविवाहित अधिकांश हिन्दू नारीले तीजका दिन सौभाग्यको प्रतीक रातो सारी, रातै चुरा अनि पोतेमा सजिएर ब्रत बस्ने र नाचगान गरी रमाइलो गर्ने गर्दछन् ।

सामाजिक र पारिवारिक विभेद हटाउन महिलाका आवाज बुलन्द गर्ने पर्वको रुपमा पनि तीजलाई लिन थालिएको छ । तर हिजो आज भने पर्व मनाउने क्रममा विकृति पनि मौलाएको छ । हप्तौंदेखिको दरखाने चलन र भड्किलो तथा उछृङ्खता पनि तीजमा बढ्दै गएको छ ।

आज पशुपतिनाथ मन्दिरमा विहान तीन बजेदेखि नै दर्शनार्थीहरुको घुँइचो लागेको छ । दर्शनका लागि विभिन्न दिशाबाट लाइनहरु बनाइएको छ । जसका कारण दश पन्ध्र मिनेटमै दर्शन गरेर फर्कन पाउने अवस्था रहेको थियो ।

Categorized in राष्ट्रिय