arin enterprises

हरितालिका तीज सुरु

SamacharDesk | २०८० भाद्र ३१, आइतबार

हिन्दू महिलाहरुको महान पर्व हरितालिका तीज आजबाट सुरु भएको छ ।

चार दिने तीज पर्वको पहिलो दिन आज घर घरमा दर खाने गरिन्छ । माइती घरमा आएका चेलीबेटीहरुलाई मीठा मीठा परिकार बनाएर दर ख्वाउने चलन छ ।

तीजको व्रत बस्नेहरुलाई मीठा मीठा र अडिलो परिकार खुवाउने गरिन्छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न मीठा परिकार खाँदै रमाइलो गर्ने चलन छ ।

ब्रत बस्नेहरुले भोलि उज्यालो नहुँदै खाना खाईसक्नुपर्ने मान्यता रहेको छ । दर खाएको भोलिपल्ट (तीजको दिन) निराहार व्रत बस्ने चलन भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ ।

दर खाएसंगै औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीको पूजासंग समापन हुने गर्दछ । तृतीयाका दिन हरितालिका व्रत, चौँथीका दिन गणेशको पूजा र पञ्चमीका दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुने गर्दछ ।

परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पुरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य र दीर्घायूको कामना गर्दै तथा अविवाहिताहरु सुयोग्य बर पाउने कामना गर्दै तीजको व्रत बसी शिवको पूजा गर्ने चलन छ ।

तीजको दिन काठमाडौंको पशुपति लगायतका देशभरका शिवालयहरुमा व्रतालुको घुइँचो लाग्दछ ।

Categorized in संस्कृति