arin enterprises

सय बर्ष अघि अन्त्य भएको त्यो कुप्रथा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ २५, बिहिबार

आजबाट एक सय बर्ष अघि अन्त्य भएको थियो त्यो कुप्रथाको, जसको नाम हो सती प्रथा । आफ्ना मृत पतिको लाशसँगै चितामा जिउँदै जलेर पत्नीले सति जानुपथ्र्यो ।

चाहे इच्छा होस् या नहोस, पतिको मृत्युपछि स्त्रीले बलेको चितामा जिउँदै जल्नुपथ्र्यो । पतिको मृत्यु भए जिउँदो पत्नीले पनि मृत्युवरण गर्नैपर्ने ।

भनौं एउटा अमानवीय, क्रुर प्रथा । कसैको जिउने अधिकार खोस्ने कुसंस्कार ।

आगोको राप सहन नसकेर भाग्न खोजेमा लखेटेर ढुङ्गाले हानेर वा बाँसले पिटेरै भएपनि पुनः चितामा राखेर जिउँदै जलाइन्थ्यो  । 

नेपालमा कुनै समयताका बालिकाको महिनावारी पनि नहुँदै आफुभन्दा ५०–६० वर्ष जेठो पुरुषसँग विवाह गरिदिने पनि गरिन्थ्यो । 

त्यसैले उनीहरु सानै उमेरमा विधुवा हुने गथ्र्यो । र विधुवा भएसँगै सतीप्रथालाई स्वीकार्दै पतिको चितामा जिउँदै जल्नुपथ्र्याे ।

जिउँदै जल्ने स्त्री आगोको राप सहन नसकेर चिच्याउँदा, त्यो चित्कार अरुले नसुनोस् भनेर ठुलठुलो स्वरमा बाजाहरु बजाउने गरिन्थ्यो ।

कस्तो अचम्मको चलन थियो, जिउँदै जलाउन सक्ने समाजले चित्कार भने सुन्न नचाहने ।

यो प्रथा कहिलेदेखि चल्दै आएको हो यकिन छैन । तर यो अमानवीय, असामाजिक प्रथाको अन्त्य भने निरंकुश भनिएको राणा शासनमा भयो ।

जंगबहादुरले सतीप्रथा अन्त्य गर्न कोशिश गरेका थिए तर उनी आंशिक रूपमा मात्र सफल भए ।

बि सं १९१० मा जंगबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरेका थिए । यो ऐनले यसमा केही हदसम्म कमी ल्याउन सघाएको थियो । 

जंगबहादुर राणाले १६ बर्षभन्दा मुनिका बिधुवा महिला ससानासन्तान भएकी महिलालाई र गर्भवती महिलालाई सती जानबाट रोक लगाएका थिए । 

तर जंगबहादुरकै मृत्युपछि पनि उनका तीनवटी रानी सती गएकी थिइन् । 

यद्यपि आजबाट १०० बर्ष अगाडि बि.स १९७७ साल असार २५ गतेको दिन चन्द्रशमशेर राणाले यस प्रथालाई पूर्ण रुपमा बन्द गरेका थिए ।

चन्द्रशमशेर पनि निरंकुश राणा शासनकालकै प्रधानमन्त्री हुन् । तर उनले नेपालमा चलेका क्रुर र अमानवीय प्रथा हटाउन चालेका कदम र योगदानका लागि हामीले उनलाई सम्झनै पर्छ ।

Categorized in विचार