वाशिङ्गटन डिसीको झडपमा मृत्यु हुनेको संख्या ४ पुग्यो
SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

अमेरीकाको वाशिङ्गटन डिसीस्थित क्यापिटल्स भवनमा भएको हिंसात्मक झडपमा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
शूरुमा प्रदर्शनकारीहरु संसद भवन पसेको बेलामा भएको झडपमा एक महिलाको मृत्यु भएको थियो भने अन्य ३ मृतकमध्ये दुई जना पुरुष र एक जना महिला रहेको छ ।
अन्य ३ मृतकको बारेमा अन्य कुनै जानकारी सार्वजनिक गरिएको छैन ।
शुरुमा मृत्यु हुने महिलाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने अन्य ३ जनाको मेडिकल इमरजेन्सीका कारण मृत्यु भएको वाशिङ्गटन डिसी प्रहरीले जनाएको छ ।
वाशिङ्गटन डिसी प्रहरीले अहिलेसम्म ५२ जनालाई पक्राउ गरेको छ । तीमध्ये ४७ जनामाथि कर्फ्यू उल्लंघनको आरोप छ ।
मृतक महिलाको सनाखत भयो
यसैबीच प्रहरीको गोली लागेर मृत्यु हुने महिलाको सनाखत भएको छ । मृतक महिलाको नाम एशली बैबिट र सान डियागो निवासी भएको बताइएको छ ।
उनी यूएस एयर फाेर्समा समेत आवद्ध रहिसकेको अमेरिकी समाचार संस्थाहरुले जनाएका छन् ।
अन्य प्रदर्शनकारीहरुका साथ क्यापिटल्स भवनमा पस्दै गर्दा उनलाई प्रहरीले हानेको गोली लागेको बताइएको छ । गोली लागेपछि उपचारको लागि अस्पताल लग्दै गर्दा बाटैमा उनको मृत्यु भएको हो ।
अमेरिकी राष्ट्रपति पदमा नवनिर्वाचित जो बाइडेनको जीतको प्रमाणीकरण प्रकृया चल्दै गर्दा चुनावी नतिजा उल्टाउन माग गर्दै ट्रम्प समर्थक क्यापिटल्स भवनमा पसेर तोडफोड गर्न थालेका थिए ।
सोही झडपले हिंसात्मक रुप लिएपछि ४ जनाको मृत्यु हुनुको साथै कयौं घाइते भएका हुन् । हिंसात्मक झडपमा १४ जना प्रहरी समेत घाइते भएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय