लाखौंको सुनचाँदीको सामानसहित तीन जना पक्राउ
SamacharDesk | २०८१ मङ्सिर २३, आइतबार
सशस्त्र प्रहरीले कैलालीको भजनीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट अवैध सुन, चाँदी र नगदसहित तीनजना पक्राउ गरेका छन् ।
हिजो साँझ एक करोड रुपैयाँभन्दा बढीको सुन, चाँदी, नगद तथा अन्य सामानहरूसहित उनीहरूलाई सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बीओपी) टोलीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरुमा सुर्खेतको चौकुनी गाउँपालिका– १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका छन् ।
भारतबाट नेपाल छिरेका उनीहरूमाथि शंका लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगायतका भाडाँकुडासहित नियन्त्रणमा लिइएको हो ।
Categorized in अपराध