arin enterprises

यस वर्षको राष्ट्रिय नृत्य दिवस काभ्रेपलान्चोकमा

SamacharDesk – बिराज | २०८० माघ ९, मंगलबार

नृत्य निर्देशक संघ (डिडान) नेपालले तेश्रो राष्ट्रिय नृत्य दिवस बनेपाको काभ्रेपलान्चोकमा मनाउने भएको छ ।

डिडान नेपालका केन्द्रीय अध्यक्ष भुवन दास श्रेष्ठले यस वर्षको राष्ट्रिय नृत्य दिवस काभ्रेपलान्चोकमा निर्णय भएको जानकारी दिए ।

गत माघ ६ गते शनिबार बसेको संघको नगर र प्रदेश कमिटीको साथै जिल्ला शाखासँग केन्द्रीय समितिको वैठकले काभ्रेपलान्चोकमा दिवस मनाउने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए ।

‘राष्ट्रिय नृत्य दिवसको सन्देश देशैभरी फैलाउने उद्देश्य सहित हामीले पहिलो र दोश्रो दिवस पनि फरक फरक स्थानमै मनाएका थियौं । यसपालि तेश्रो नृत्य दिवस काभ्रेपलान्चोकमा मनाउन लागेका हौं’ अध्यक्ष श्रेष्ठले भने ।

संघले २०७८ फागुन ६ गते मध्यपुर थिमिमा पहिलो राष्ट्रिय नृत्य दिवस मनाएको थियो भने दोश्रो नृत्य दिवस २०७९ फागुन ४ देखि ६ गतेसम्म बुटवलमा मनाएको थियो ।

यस वर्ष फागुन ६ गतेकै दिन काभ्रेपलान्चोकमा नृत्य दिवस मनाउने तयारी सुरु भएको संघले जनाएको छ ।

सुरुमा र्‍याली र पछि विभिन्न सांस्कृतिक नृत्यहरु सहित दिवसको कार्यक्रम आयोजना गरीने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘नृत्य निर्देशक, नृत्य कलाकार र नृत्य प्रेमीहरु भेला भई ¥याली निकालिनेछ भने पछि विभिन्न नृत्यहरुसहित सांस्कृतिक कार्यक्रम गरिनेछ । भब्य र सभ्य रुपमा दिवस मनाउने योजना हाम्रो छ’ श्रेष्ठको भनाई हो ।

राष्ट्रिय नृत्य दिवस राज्यस्तरबाटै मनाउनुपर्ने मागसहित सभ्य किसिमको दबाबमूलक कार्यक्रमको रुपमा कार्यक्रम आयोजना गर्न लागिएको श्रेष्ठले बताए ।

कार्यक्रममा संस्कृतिमन्त्रीलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्ने योजना रहेको पनि श्रेष्ठले सुनाए ।

‘हामीले फागुन ६ गतेलाई राष्ट्रिय नृत्य दिवसको रुपमा राज्यले नै मनाउनुपर्ने माग गर्दै आएका छौं । यहि मागसहितको ज्ञापनपत्र हामीले संस्कृतिमन्त्री सुदन किराँतीलाई बुझाइसकेका छौं । कार्यक्रममा पनि उहाँलाई नै प्रमुख अतिथिको रुपमा निमन्त्रणा गर्ने कुरा छ’ श्रेष्ठले भने ।

डिडानले वरिष्ठ नृत्य निर्देशक भैरव बहादुर थापाको जन्मदिनको दिन फागुन ६ गतेलाई राष्ट्रिय नृत्य दिवसको रुपमा घोषणा गर्न माग गर्दै आएको छ ।

यसै सन्दर्भमा संघले सरोकारवाला मन्त्री, निकायलाई ध्यानाकर्षण गराउनुका साथै विभिन्न कार्यक्रम गर्दै आएको छ भने फागुन ६ गतेकै दिनमा राष्ट्रिय नृत्य दिवस कार्यक्रम पनि गर्दै आएको छ ।

Categorized in पेजथ्री