कोरोना संक्रमित थप १ को मृत्यु, मृत्यु हुनेको संख्या ३ पुग्यो
SamacharDesk – विकाश | २०७७ जेठ ८, बिहिबार

कोरोनाभाइरस (कोभिड १९) बाट संक्रमित थप एक जनाको मृत्यु भएको छ ।
रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचाररत ४१ वर्षीय पुरुषको मृत्यु भएको हो ।
नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ ।
हिजैपनि उनको मृत्युको खवर विभिन्न अनलाईनले सार्वजनिक गरेको थियो भने पछि अस्पतालले प्रेश विज्ञप्ती जारी गर्दै मृत्युको समाचारको खण्डन गरेर संक्रमित व्यक्ति अस्पतालमै उपचाररत रहेको जनाएको थियो ।
आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भेन्टिलेटरमा राखेर उपचार भइरहेका ४१ वर्षीय संक्रमित व्यक्तिको मृत्यु आज भएको पुष्टि गर्नुभयो ।
कोरोना संक्रमणका कारण मृत्यु हुने पुरुष गुल्मीको मदाने गाउँपालिका पुर्कोटका वासिन्दा हुन् ।
स्वास्थ्यमा समस्या देखिएर गत ज्येष्ठ १ गते अस्पताल भर्ना भएका उनमा सोमबार कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो ।
ज्वरो, रुघाखोकी लगायतका समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना हुनु एक हप्ता अगावै उनमा ज्वरो देखिएको थियो ।
शुरुमा गाउँकै पुर्कोट दहस्थित मदाने पोलिक्लिनिकमा जचाएका उनको स्वास्थ्यमा सुधार नभएपछि अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुगेका थिए ।
त्यहाँबाट उनलाई क्रिमसन अस्पताल रिफर गरिएको थियो ।
अस्पताल भर्ना भएको दिनबाटै उनलाई आइसियूमा राखिएको थियो भने भने कोरोना पुष्टि भएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदैथियो ।
मृतक व्यक्ति पेशाले विद्यालयका प्रधानाध्यापक थिए । उनको विद्यालयलाई अहिले क्वारेन्टाइन बनाइएको भएकोले त्यहीँबाट उनलाई संक्रमण सरेको आशंका गरिएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
नेपालमा यसअघि कोरोना संक्रमणकै कारण दुईजना व्यक्तिको मृत्यु भइसकेको छ । जसमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला र बाँकेका युवक रहेका छन् ।
Categorized in राष्ट्रिय