यस वर्षको पहिलो साउने सोमबार र एक्लो शिव
SamacharDesk – विकाश | २०७७ श्रावण ५, सोमबार

२०७७ सालको श्रावणको पहिलो सोमबार । श्रावणको सोमबारको ठुलो महिमा छ ।
श्रावणको सोमबार असल वर पाउने वा पतिको दीर्घायूको कामनासहित महिलाहरु व्रत वस्ने र शिवको आराधना गर्ने गर्दछन् ।
श्रावणका सोमबारहरुमा देशका विभिन्न शिवालयहरुमा महिलाहरुको भीड नै लाग्ने गर्दछ ।
अझ पशुपतिमा त भन्नै परेन । अरु शिवालयमा नै मेलाको माहौल देखिने यो दिन पशुपतिमा त महामेला नै हुने गर्दछ ।
आजको दिन अझ विशेष छ ।
हिन्दु धर्मशास्त्रमा औंशीको पनि ठुलो महत्व दर्शाइएको छ । आज साउने सोमबारको साथमा औंशी समेत जुरेको छ ।
सामान्य अवस्था भए आजको दिनले शायद एउटा ठुलो उत्सवकै झझल्को दिन्थ्यो होला ।
तर आज पशुपति सुनसान छ । अरुबेला भीड र मेलाको माहौल रहने पशुपति क्षेत्रभित्र पशुपतिनाथ आज एक्लो भए ।
कोरोना महामारीका कारण संक्रमण नियन्त्रण र रोकथामका लागि सरकारले गत २०७६ चैत्र ११ गतेबाट लकडाउन जारी गरेसँगै पशुपतिनाथको दर्शन सर्वसाधारणको लागि बन्द गरिएको थियो ।
त्यो समयदेखि बन्द रहेको पशुपतिनाथको मन्दिर आज पनि बन्दै छ ।
भीड हुनसक्ने र संक्रमण फैलनसक्ने सम्भावनालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकाश कोषले मन्दिर खुल्ला गरेको छैन ।
तर पनि पशुपति परिसरमा केही भीड भने देखियो नै । पशुपतिनाथ मन्दिरको सबै प्रवेश द्वार बन्द रहेपनि ढोका बाहिरैबाट पूजा गर्न श्रद्धालु भक्तजनहरु झरीकै बीचमा पनि पशुपति पुगे ।
अन्य शिवालयहरुमा पनि महिलाहरुको भीड देखिएको थियो ।
पूजा सामग्री बोकेर शिवको पूजा गर्न लामवद्ध भएका ती महिलाहरुलाई हेर्दा उनीहरुको अनुहारमा संक्रमणको डर अलिकति पनि देखिन्न थियो ।
शायद भगवान पशुपतिनाथले नै आफ्नो रक्षा गर्ने विश्वास (अथवा अन्धविश्वास ?) तिनीहरुमा थियो ।
श्रद्धा, आस्था आफ्नो ठाउँमा छ । तर व्यवहारीकता महत्वपूर्ण पक्ष हो ।
एकजनामा संक्रमण सरे त्यसबाट फेरी अन्यमा सर्दै जाने र यो फैलिने सम्भावना रहन्छ ।
फेरी भगवान हरेक ठाउँमा हुन्छन् भन्ने विश्वास पनि त हामीमा छ ।
कुनै शिवालयमा गएर भीडभाड गर्नु वा भीडभाडमा मिस्सिएर मात्र भगवान खुसी हुने र घरमै बसेर शिवको आराधना गर्ने रिसाउने उनी आशुतोष त पक्कै होइनन् ।
भित्री मनदेखि गरिएको पूजा अथवा पुकार खुसीसाथ सुन्ने शिवको आराधना घरमै बसेर गरौं । भीडभाड कम गर्न सबैले सहयोग गरौं ।
यस्तै भीडबाट संक्रमण फैलिए समाजले यसको दोष उनै शिवलाई पनि लगाउन सक्छन् ।
उनी त नीलकण्ठ हुन्, मान्छेहरुको आरोपलाई हाँसेरै निलिदेलान् तर भक्तहरुलाई नै यो आरोपले निकै पीडा हुनसक्छ ।
कम से कम, आफ्ना आराध्यलाई यस्तो दोष नलागोस्, यत्तिको लागि भएपनि समाजमा सावधानी अपनाउँ । सावधानी अपनाई, आफु पनि सुरक्षित भई, अरुलाई पनि सुरक्षित बनाइ धर्म, सँस्कृतिलाई निरन्तरता दिउँ ।
Categorized in संस्कृति