arin enterprises

नेपालभाषाका तीन कृतिको लोकार्पण

SamacharDesk – बिकाश | २०७७ श्रावण १८, आइतबार

नेपालभाषा एकेडेमीबाट एकैपल्ट नेपालभाषाका तीन वटा कृतिहरुको लोकार्पण भएको छ ।

महामारीको अवस्थामा संक्रमणको जोखिमलाई मध्यनजर गर्दै एकेडेमीले नेवाः युट्युबको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारणको माध्यमबाट तीनवटा विभिन्न पुस्तकहरूको विमोचन गरेको हो ।

आयोजक संस्था नेपालभाषा एकेडेमीका संरक्षक समेत रहनु भएका वाङमय शताब्दि पुरुष अति विशिष्ट  संस्कृतिविद् डा. सत्यमोहन जोशीले पुस्तकहरुको विमोचन गर्नुभयो ।

संस्कृतिविद् डा जोशीकै निवास रहेको लोक साहित्य परिषद् भवनमा सम्पन्न कार्यक्रममा एकेडेमीको अर्ध वार्षिक प्रकाशन नेवाः प्रज्ञाको अङ्क ४ सहित समालोचक प्रा.डा. चन्द्रमान बज्राचार्यको  समालोचना संग्रह ‘ल्हाःचिं’ र साहित्यकार यज्ञरत्न धाख्वाःका कथा संग्रह ‘चं अजि’ सार्वजनिक गरिएको हो ।

कार्यक्रममा शताब्दी पुरुष जोशीले नेपालभाषा एकेडेमीले विभिन्न विषयक पुस्तक प्रकाशन गरेकोमा खुशी व्यक्त गर्दै नेपाली साहित्यलाई अंग्रेजी लगायत विभिन्न भाषामा अनुवाद गरी अन्तर्राष्ट्रीय साहित्य जगतमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

नेपालभाषा एकेडेमीका उप कुलपति एवं साहित्यकार यज्ञरत्न धाख्वाः, एकेडेमीका प्राज्ञ विजयरत्न असंबरे लगायतले भाषालाई समृद्ध बनाउन साहित्यको ठुलो भूमिका रहनेमा जोड दिएका थिए ।

Categorized in पेजथ्री