रसियामा कोरोना उपचारमा संलग्न ३ चिकित्सकले गरे आत्महत्या
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ बैशाख २६, शुक्रबार

रसियामा कोरोना भाइरस कोभिड १९ बाट संक्रमित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अस्पतालको झ्यालबाट हाम फालेर आत्महत्या गरेका छन् ।
ती चिकित्सकहरुले कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले जनाएका छन् ।
तीमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो ।
अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमती राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो ।
रसियामा सयौंको संख्यामा चिकित्साकर्मीहरु नै कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।
पछिल्लो समय रसियामा अस्पतालको झ्यालबाट हाम फालेर वा खसेर चिकित्सकको मृत्यु हुने घटना बढेको छ ।
यसअघि मे २ मा रसियाको राजधानी मस्कोबाट ५०० किलोमिटर दक्षिणस्थित भोरोनेज क्षेत्रमा कार्यरत डा अलेक्जान्डर शुलेपोभले पनि आफू कार्यरत अस्पतालको दोस्रो तलाबाट हाम फालेका थिए ।
उनमा पनि कोरोना संक्रमण थियो भने सोही अस्पतालमा उपचाररत थिए ।
यसैगरी, अप्रिल २५ मा पश्चिम साइबेरियाको क्रानोयास्क शहरमा डा येलेना नेपोमन्यास्चायाको पनि अस्पतालकै पाँचौं तलबाट खसेर मृत्यु भएको थियो ।
मे १ मा अस्पतालको सघन उपचार कक्षमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
त्यस्तै अप्रिल २४ मा मस्कोस्थित एक अस्पतालको झ्यालबाट खसेर डा नताल्या लेभेदेभाको मृत्यु भयो ।
अस्पतालले दुर्घटनाबस नताल्याको निधन भएको बताईरहँदा स्थानीय संचारमाध्यमहरुले भने डा नताल्यामाथि कोरोना भाइससँग सम्बन्धित तनाब नै जिम्मेवार रहेका बताएका छन् ।
विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ ।
रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन् ।
चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरेमा जागीरबाट हटाइने धम्की दिने गरिएको चिकित्सकको भनाई छ ।
रसियामा १ लाख ७७ हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एक हजार ६ सय २५ जनाको ज्यान गइसकेको छ । निको हुनेको संख्या भने २३ हजार ८ सय ३ जना रहेको छ ।
Categorized in अन्तर्राष्ट्रिय