arin enterprises

नेपाल तथा युएइका सभामुखबीच शिष्टाचार भेट

SamacharDesk | २०७९ फाल्गुण ८, सोमबार

संयुक्त अरब इमिरेट्स युएइको भ्रमणमा रहनुभएका संघीय संसद, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र युएइको संघीय राष्ट्रिय काउन्सिलका सभामुख Saqr Ghobash बीच अबुधाबीस्थित काउन्सिलमा शिष्टाचार भेटघाट भएको छ।

भेटघाटमा अध्यक्ष तिमिल्सिना र युएइका सभामुख Ghobash ले दुई देशबीचको द्विपक्षीय सम्बन्धका विविध आयामहरूमा छलफल गर्नुभयो ।

बैठकमा उहाँहरूले नेपालीहरूको एक प्रमुख रोजगार गन्तव्यका रूपमा युएइ रहेकाले यसलाई थप व्यवस्थित गरी पारस्परिक हितमा हुने गरी सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा अध्यक्ष तिमिल्सिनाले युएइमा नेपालीहरूले आर्जन गरेको सीपलाई नेपालमा पनि प्रयोग गरी देशको विकासमा योगदान पुर्याउने सम्भावना रहेको बताउनुभयो ।

उहाँले युएइमा काम गर्ने नेपालीहरूको हकहित तथा सुरक्षा अभिवृद्धि गर्ने सम्बन्धमा पनि दुई देशबीच भैरहेको सहकार्यलाई थप सुदृढ गर्नुपर्ने बताउनुभयो।

अध्यक्ष तिमिल्सिनाले दुई देशबीच रोजगारीका अलवा लगानी, वैदेशिक सहयोग र जनस्तरको सम्बन्धलाई थप सुमधुर बनाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल सरकारले विदेशी लगानीलाई उच्च प्राथमिकता दिएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले युएइका ठूला लगानीकर्ताहरूलाई नेपालको पर्यटन, जलविद्युत्, चिकित्सा शिक्षा, पूर्वाधार र सेवा लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो।

उक्त भेटघाटमा नेपालको तर्फबाट मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी, युएइका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल तथा युएइका तर्फबाट उक्त काउन्सिलका उच्च अधिकारीहरूको समेत सहभागिता रहेको थियो।

Categorized in राष्ट्रिय