बडादशैंमा आज महागौरीको पूजा गरिँदै
SamacharDesk – बिकाश | २०७७ कार्तिक ८, शनिबार

आश्विन शुक्ल अष्टमी, बडादशैंको आज आठौं दिन । महाष्टमीको रुपमा लिइने आजको दिनमा शक्तिस्वरूपा भगवती महागौरीको पूजा आराधना गरिँदैछ ।
सेतो वर्ण र सेतो पहिरन भएकी, वृष वाहन, महागौरीको चार हातमध्ये माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन् ।
शान्त मुद्राकी यी माताको सबै कपडा र गरगहना पनि सेतै छन् ।
बालककालमा पार्वती हुँदादेखि नै शिव पति पाउन यिनले कठोर तपस्या गरेकी थिइन् ।
महादेवलाई पाए वरण गर्छु, नत्र कुमारी नै भएर बस्ने प्रतिज्ञा लिएकी यिनले कठोर तपस्या गरेको हुनाले यिनको शरीर एकदम कालो हुन पुगेको थियो ।
यिनको तपस्याले खुसी भएका शिवजीले यिनको शरीरलाई गङ्गाजलमा गएर नुहाइदिएपछि उनी गोरी भइन् र उनको नामै गौरी रहन गएको हो ।
यी देवीको शक्ति अमोघ छ र प्रत्यक्ष फल दिने हुन्छ ।
यी भगवतीको भक्ति आराधना गर्नाले भक्तजनहरूको सबै दोष नाश हुन्छ र कुनै पनि पाइलामा बाधा अड्चन नआउने धार्मिक विश्वास छ ।
तान्त्रिक मत अनुसार भने आज महालक्ष्मीको आराधना गरिन्छ ।
नवग्रह पूजा अन्तर्गत भने आज सूर्यको पूजा गर्ने गरिन्छ ।
Categorized in संस्कृति