arin enterprises

बिहेमा जुत्ता लकाउने चलन खपी नसक्नु

SamacharDesk – आकाश राजोपाध्याय | २०८० माघ १८, बिहिबार

विवाह एउटा यस्तो चलन हो, जुन खर्चिलो पनि छ, र अपरिहार्य पनि । विवाह एउटा सम्पन्न गर्न परिवारले आफ्नो जिन्दगी भरको कमाई लगाएको हुन्छ ।

कतिले त आफ्नो छोराछोरीको बिहे गर्नकै लागि ऋण लिएर अथवा घर खेत बेचेरै भएपनि व्यवस्था गरेको हामीले यहि समाजमा देखेको पनि छ ।

बिहेको लागि चाहिने गरगहना, नयाँ लुगाफाटा, संस्कार सम्पन्न गर्नको लागि चाहिने पूजा सामग्री, पुरोहितलाई दक्षिणा, गरगहना, गाडीदेखि लिएर भोज वा पार्टीसम्मका खर्चहरु निकै छ ।

पछिल्लो समय आएर त यो चलन भड्किलो पनि बन्दै निकै महंगो र खपी नसक्नु भएको छ ।

आजकाल फेरी बिहेमा सालीले भिनाजुको जुत्ता लुकाउने चलनले भने एउटा छुट्टै स्थान बनाएको छ । तराईतिर यो चलन भएपनि पहाड, हिमालतिर भने यो चलन थिएन । तर अहिले आएर हाम्रो समाजमा यो पनि एउटा अनिवार्य चलनको रुपमा स्थापित हुँदै गइरहेको छ ।

भिनाजुको जुत्ता लुकाई सालिहरुले लाखौँ मागेको भिडियोहरु सामाजिक संजालमा भाईरल नै हुने गरेको छ । साथै आफन्त र साथीभाईहरुको बिहेमा जाँदा यो दृश्य जसले पनि देखिरहेकै हुन्छ ।

केही समय अगाडी सम्म त जुत्ता लुकाए बापत दुलाहाले आफ्नो क्षमताले भ्याएसम्म केही रकम सालीहरूलाई दिने गर्दथे र सालीहरुले पनि जति पैसा पाएपनि रमाईलोको हिसाबले मात्र लिने गर्थे । तर अचेल यो चलन व्यापार भन्दा कम छैन ।

आजकल सालीहरुको माग भने लाखौंमा हुन थालेको छ । ‘घाँटी हेरेर हाड निल्नु’ नेपाली समाजमा यो भनाइ पुरानै हो ।

नेपालमा मात्रै होइन, संसारै भरी बिहे जस्तो संस्कारले दुई व्यक्ति मात्र नभई, दुई परिवारलाई नै एक गर्छ । यो एक प्रेमको सम्बन्ध हो । दुई परिवारबीच सम्बन्धको बीजारोपण गर्ने बेलामा पैसा बीचमा आउँदा सबै भताभुंग भइदिन्छ ।

यहि कारणले बिहेकै दिन दुई परिवार बीच खटपट हुन पुगेको, त्यहि एउटा विषयले कालान्रतसम्म सम्वन्धमा असर पु¥याइरहेको उदाहरण अहिले खोजे हाम्रै वरपर भेछिन्छ ।

पुख्र्यौली पेशाले म नेवार समाजमा हिन्दुहरुको पुरोहित हुँ । त्यसको साथै म फोटो पनि खिच्ने गर्छु । बिहे गराउन जाँदा होस या फोटो खिच्न जाँदा, मैले पनि यस्तो कुरा धेरै सुनेको र देखेको छु ।

कसरी सुरु भयो त यो चलन ?

बिहेमा दुलाहाको जुत्ता लुकाउने चलन कहिलेदेखि सुरू भयो ? यो किन गरिन्छ भन्ने यकिनका साथ भन्न त गा¥है पर्यो ।

पहिले पहिले जुत्ता सहजै उपलब्ध हुँदैन थियो । जुत्ता लगाउनै परे पनि सबैले सक्दैन थिए । तर, दुलाहा अलि राम्रो देखिन जसरी भए पनि जुत्ता लाउनपर्ने हुन्छ ।

जुत्ता लगाएर लामो बाटो हिँडेर आएको दुलाहा पूजामा बस्दा फुकाल्नुपर्ने हुन्थ्यो । अनि फुकालेर नजिकै राख्दा चोरी हुने डरले दुलहीकी बहिनीहरुले भिनाजुको जुत्ता नहराओस् भनेर सुरक्षित स्थानमा राखिदिने गर्थे ।

दुलही अन्माएर अनि सबै प्रक्रिया सिध्याएर जन्ती फर्किने बेलामा सालीहरुले भिनाजुलाई जुत्ता दिने र भिनाजुले खुसी हुँदै उपहार स्वरूप केही रकम सालीहरुलाई हातमा हाल्दिने गरिन्थ्यो ।

यसरी नै एउटा चलन चल्दै यो जुत्ता लुकाउने प्रथा वा चलन बिहेमा नभई नहुने संस्कृतिका रूपमा विकास भयो भन्ने जानकारहरु बताउँछन् ।

त्यसैगरी कोहिले भने यो चलन सन १९९४ मा आएको ‘हम अपके हे कौन’ नामक हिन्दी फिल्मको ‘जुते देदो पैसे लेलो’ गीतको प्रभाव भनेका छन् । त्यस फिल्ममा माधुरी दिक्षितले बिहेमा आफ्नो भिनाजुको जुत्ता लुकाई सालीहरुले दुलाहा पक्षसँग बार्गेन गरेको देखाइन्छ । यहि फिल्मको सिको गर्दै अहिले यहाँ पनि गर्दै गइरहेको हो भनिन्छ ।

त्यस्तै भिनाजु र सालीको सम्बन्ध स्थापित गर्न यो चलन चलाएको पनि भन्नेहरु पनि छ ।

यो चलनको आलोचना किन हुँदै छ ?

दुलाहा भित्र आउने बित्तिकै सुरुमा त जुत्ता लुकाउन दुलहीका दिदि बहिनीहरु तैयारी अवस्थामा हुन्छन् । त्यस्तै केटापट्टिबाट आएकाहरु पनि जुत्ता लुकाउन नदिन तैयार हुन्छन् ।

त्यसबेला दुबैपक्षको होडबाजीमा जुत्ता तानातान गर्न थाल्छन्, जुन अवस्थामा दुलाहा लडेको घटना धेरै पल्ट भएको छ । यो दृश्य हेर्दा ठुलै दुर्घटनासम्म पनि नहोला भन्न सकिन्न ।

बिहेको काम सकेपछि बार्गेनिंग सुरु हन्छ । बढिमा १० वा १५ हजारको जुत्ता लुकाए बापत लाख रुपैयाँ दिँदैन भन्ने कुरा कसलाई थाहा छैन र ? तर एकचोटि माग्दैमा के जान्छ र, जति बढि माग्यो, त्यति बढि नै पाइएला भन्ने मनसाय अझ भनौं लोभैले लाखौैं माग्नेहरु धेरै छन् ।

कोहि फेरी यो रमाइलोको लागि मात्र त हो नि, जति दिएपनि ठिक भन्ने विचार गर्नेहरु पनि छन् । तर धेरै जसोले भने बार्गेनिङ गर्दै अनाप सनाप नै भन्न थाल्छ ।

मैले पनि यस्तै लेनदेनको क्रममा मागेको रकम दिन नमान्दा ‘यती पनि दिन नसक्नेले हाम्रो दिदिलाई कसरी पालेर खाला त’ , ‘हामीले हाम्रो ... तपाईलाई दिएका छौँ । यसको बदलामा हामीलाई केहि पनि नदिने’ ‘हामीले हाम्रो भोज खर्च नउठाए सम्म हामीले हाम्रो ... लाई लैजान दिन्न’ भन्ने जस्ता रुखो वचन बोेलेको पनि सुनेको छु ।

अझ एक ठाँउको कुरा भनिहालौं, म फोटो खिच्न गएको थिएँ, त्यहाँ जुत्ता लुकाउने चलन हामी नेवारहरुको चलन हैन भन्दा ‘काठमाडौंमा घर भएकाहरु पनि यति गर्न कन्जुस रैछ’ भनिदिए, जसकारण केटा पक्षले धेरै नरमाइलो मानेको थियो ।

जुत्ताको बार्गेनिंग नमिल्दा दुलाहा पक्ष र दुलही पक्षबीच झगडा हुँदा बिहेजस्तो पवित्र कार्यमा हातापाई भई प्रहरी नै आउनु परेको घटनाहरु समाचारहरुमा पढ्न पाइन्छ । यस्तै सालीहरुसँग झगडा हुँदा दुलाहा दुलही नै नलिईकन फर्केको कुरा पनि हामीले सुनिसक्यौं ।

पैसाकै लागि बोल्न नहुने असामाजिक खालका कुराहरु बोल्ने र नचाहिने आरोप लगाउँदा आफ्ना छोरीबेटीलाई नै समाजमा नकारात्मक असर पनि पर्नसक्छ जस्तो मलाई लाग्छ ।

यस्तै यस्तै घटना प्रत्यक्षरुपमा सामाजिक संजालमा छ्यापछ्याप्ती देख्न पाँउदा नयाँ पुस्ताले के सिक्ने भन्ने नि रहन्छ ।

आफ्नो संस्कार भुलेर आयातित संस्कारलाई बढि मान्यता दिँदा आफ्नो मौलिक संस्कार नै हराउन सक्छ । पहिले पहिले नभएको अहिलको नयाँ चलनलाई हाम्रो संस्कार भन्नु चिन्ताको विषय हो जस्तो मलाई लाग्छ ।

जुत्ता लुकाउने चलन दाइजो प्रथा भन्दा के फरक भयो ?

दाइजो प्रथा एक सामाजिक विकृति हो । बिहेमा दुलही पक्षले भने जस्तो दाइजो नदिँदा बुहारीलाई विभिन्न यातना दिनुका साथै ज्यानै लिएको घटनाहरु सार्वजनिक भइरहन्छ ।

यसलाई कानुनीरुपमा पनि बन्देज लगाइएको छ । कसैको ढाडै सेकिने गरि दाइजो लिएमा विभिन्न सजाँय तोकेको छ । हाल दाइजो लिने काम भने एकदमै कम हुँदै गएको छ । एकतिर दाइजो लिने कुराको विरोध हुँदै गर्दा दुलाहाको जुत्ता लुकाई चर्को मुल्य असुल्ने चलन समाजमा फस्टाएको छ ।

दुलाहाको ढाडै सेकिने गरि लाखौं माग्ने काम भनेको दाइजो प्रथा सरह नै हो भन्दा के फरक पर्ला । दुलाहा पक्षसँग झगडा गरेर लिएको पैसाको कारण दुलहीले लामो समयसम्म सामाजिक र मानसिक यातना सहनुपर्ने हुन सक्छ ।

ख्याल ख्यालमा दुलाहाको ढाड सेक्किने गरि ठुलै रकमको बार्गेनिंग हुँदा अवस्था जहिल्यै एउटै हुँदैन । रमाइलो वा मजाक गर्ने बहानामा कुराहरु कहिले अन्तै मोडिएर कति खेर कसको चित्त दुख्छ कसलाई के हुन्छ थाहा हुन्न ।

नियन्त्रण कसरी गर्ने त ?

अहिलेको परिस्थितीमा जुत्ता लुकाउने चलनलाई हामीले बन्द नै गर्न भने सकिएला जस्तो मलाई लाग्दैन । यसलाई हामीले गर्ने भनेको नियन्त्रण मात्र हो ।

पैसा कमाउन सबैले मेहनत गर्नैपर्छ । पैसा भन्ने कुरा न कतै रुखमा टिप्न जान पाइन्छ, न बाटोमा भेटाइएला ?

बिहेको काम एउटा सम्पन्न गर्न कसैले ऋणै पनि लिन्छ । त्यस्तोमा जुत्ता लुकाई चर्को मुल्य असुल्ने भनेको एक पक्षलाई अनावश्यक भार दिनु हो ।

भिनाजुले स्वेच्छाले जुत्ता लुकाउँदा दिएका रकममा सालीहरु सन्तुष्त भएमा, भिनाजुको सालीहरुलाई हेर्ने नजर नै सकारात्मक हुन्छ । यदि पैसाकै लागि झगडा गर्दा भोलि सालीहरु दिदीको घर जाँदा कसैलाई मुख देखाउन सक्लान् त ?

यो प्रश्नमा सबैले ध्यान दिनु राम्रै होला । आफ्नो पुरानै परम्परा भएपनि जुत्ता लुकाए बापत यदि दुलही पक्षले आर्थिक लचकता अपनाएमा दुलाहा र दुलही पक्षबीच आपसी श्रद्धा र विश्वास कायम रहन्छ ।

यसमा लडाईँ र प्रतिस्पर्धा गर्नुभन्दा सालीहरुले लचकता अपानाई राम्रो सम्बन्ध कायम गर्ने चलनका रूपमा जीवित राख्ने काम सबैले गर्नुपर्छ ।

कुनै पक्षलाई अनावश्यक आर्थिक भार दिएमा भोलिको दिनमा विवाह भनेकै उच्चवर्ग परिवारको मात्र चलन हुन पनि के बेर लाग्ला र ?

गरीब परिवारले आफ्ना छोरालाई त भन्नैपर्ला, ‘बाबु, जुत्ता लुकाउँदा सालीहरुलाई नै लाखौं रकम दिनुपर्छ । हामीले कहाँबाट ल्याउनु त्यत्रो पैसा । हामी तिम्रो बिहे गरिदिन सक्दैनौं ।’

Categorized in विचार