arin enterprises

परम्परा होकि विकृतिः माटाका भाँडाकुडा फुटाउने जात्रा ??

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८० माघ १४, आइतबार

मितिः २०८० माघ ११ गते विहिबार, पौष पुर्णिमाको दिन

स्थानः हनुमानढोका दरवार परिसर

प्रसङ्गः चाँगुनारायणको कलश यात्रा

चाँगुनारायणका पुजारी साथमा संस्कृति अध्येता आभाष धरानन्द राजोपाध्याय चाँगुनारायणको कलश बोकेर मखनको बाटो हुँदै हनुमानढोकाको सिंहढोकातर्फ बढ्दै थिए ।

उनको दायाँ र बायाँ लक्ष्मी र सरस्वतीको कलश बोेकेका भडेलहरु थिए ।

माघको जाडोमा कलश बोकेका तीनै जनाको खालि खुट्टा हिँड्दै थिए । पक्कै पनि खुट्टा त चिसोले कठ्यांग्रिएकै होला ।

त्यतिखेर काठमाडौं तलेजुका भुजाहारी हरिओम पति राज राजोपाध्याय लसकुस गर्नलाई (नेवार परम्परा अनुसार सांस्कृतिक विधिविधानसहित भित्र्याउनु) सरसामग्रीसहित सिंहढोकामा कुरेर बसेका थिए ।

मखनस्थित महिन्द्रेश्वर महादेव मन्दिर अगाडी माटाका भाँडाकुडाहरु राखिएको थियो ।

जब चाँगुनारायण र लक्ष्मी सरस्वतीको कलश महिन्द्रेश्वर महादेव मन्दिर अगाडी पुग्नै लागेको थियो, केही समूह आएर त्यहाँ राखिएको खालि माटाका भाँडाकुडाहरु भुइँमा बजारी बजारी, फाल्दै फुटाउन थाले ।

लक्ष्मी र सरस्वतीको कलश बोकेका भँडेलहरुसहित चाँगुनारायणको कलश बोकेका आभाष टक्क रोकिए । के भएको थियो त त्यहाँ ?

चाँगुनारायणको कलश यात्राः

वर्षको दुई पटक चाँगुनारायणको कलश चाँगुबाट हनुमानढोका ल्याउने गरिन्छ, श्रावण शुक्ल द्वादशी र पौष पुर्णिमाको दिनमा ।

चाँगुनारायणका मूल पूजारीले नारायण कलश र दायाँबायाँ दुईजना भडेलहरुले लक्ष्मी र सरस्वतीको कलश बोकेर चाँगुदेखि नांगै खुट्टा हिँड्दै ती कलशहरु काठमाडौंको हनुमान ढोका पुर्‍याउने गरिन्छ ।

सुरुमा चाँगुनारायणबाट बोकेर ल्याइएका कलशहरु जमलमा ल्याइन्छ ।

जमलमा रानीपोखरीसँगै रहेको एउटा पाटीमा राखेर चाँगुका मूल पूजारीले कलशहरुको विधिवत् पूजा गर्छन् । त्यसपछि कलशहरु बोकेर गुरुजु पल्टनसहित हनुमानढोका गइन्छ ।

जमलबाट कमलाक्षी, असन, बालकुमारी, जनबहाल, इन्द्रचोक, मखन हुँदै कलशहरु हनुमान ढोका वा भनौं काठमाडौं तलेजुको सिँहढोका पुर्‍याइन्छ ।

हनुमान ढोका पुगेपछि काठमाडौं तलेजुका भुजाहारीले विधिपूर्वक लसकुस गरी (नेवार समाजमा धार्मिक, सांस्कृतिक विधिविधान अनुसार भित्र्याउने) सिँहढोकाबाट तलेजु भित्र लगिन्छ ।

तलेजुमा चोकमा राखी चाँगुका मूल पूजारीले कलश पूजा गर्ने चलन रहेको छ । यो समयमा तलेजुको मूलचोकमा यज्ञ पनि गरिन्छ ।

यज्ञको धार्मिक मान्यता त छँदैछ साथमा यो यज्ञ चाँगुनारायण काठमाडौं तलेजु पुगेको सन्देश दिने माध्यम पनि मानिन्छ । यस यज्ञको धुँवा चाँगुनारायणबाट देखेपछि कलश काठमाडौं तलेजु पुग्यो भनेर थहा पाइन्छ रे ।

तलेजुमा कलशको पूजा सम्पन्न भएपछि राष्ट्रप्रमुखलाई दर्शन गराउन कलशहरु राष्ट्रपतिकहाँ लगिन्छ र त्यतैबाट फेरी चाँगुमै फर्काइन्छ ।

मुख्य रुपमा श्रावणमा हुने कलश यात्राको विधिविधान भनौं वा परम्परा यहि नै हो । तर, पौष महिनामा हुने कलश यात्रामा भने सिँहढोका बाहिर, महिन्द्रेश्वर महादेव मन्दिर अगाडी माटाका भाँडाकुडाहरु फुटाउने गरिएको छ ।

किन फुटाइन्छ त माटाका भाँडाकुडाहरु ??

अचेल चाँगुनारायणको कलश यात्रा हनुमानढोका आइपुग्दा माटाका भाँडाकुडा फुटाउने काम तारिणी मखन क्लबले गर्दै आएको देखिन्छ ।

चाँगुनारायणको कलश यात्रामा यसरी माटाका भाँडाकुडा फुटाउने परम्परा रहेको र आफुहरुले लोपोन्मुख परम्पराको निरन्तरतामा सक्दो पहल गर्दै आएको तारिणी मखन क्लबका अध्यक्ष राजन महर्जन बताउँछन् ।

यता अध्यक्ष महर्जन माटाका भाँडाकुडा फुटाउने लोपोन्मुख परम्परा भनिरहँदा चाँगुनारायण मन्दिरका मूल पुजारी चक्रधरानन्द राजोपाध्याय यो अहिले चलेको नयाँ चलन भन्छन् ।

विगतमा यसरी भाँडाकुडाहरु फुटाउने नगरिएको चाँगुनारायाणका मूल पूजारी राजोपाध्यायको भनाई छ ।

‘अपसगुन भयो भनी नारायण फर्किन्नन् भनेर खाली घैटो देखाउने र ती घैटोहरु कसैले नलग्ने भएकोले कलश यात्रा पछि फुटाइदिने गरिन्थ्यो ।

‘छ्यालापुन्हिमा भक्तपुरमा र काठमाडौंमा चाँगुनारायणको कलश यात्रामा माटाका भाँडाकुडा फुटाउने चलनमा केही सम्वन्ध छ कि वा यी दुई अन्तरसम्वन्धित हुन् कि ?’

अहिले त हामी हिँडिरहँदा बाटोमै फुटाउने गर्न थालियो । मैले कलश यात्रामा २०४१ सालदेखि कलश बोक्न थालेको हो, विगतमा त यस्तो गरेको थाहा छैन’ मूल पुजारी राजोपाध्यायले भने ।

पौष पुर्णिमाको दिनमा माटाका भाँडाकुडा फुटाउने चलन हुँदै नभएको भने होइन ।

पौष पुर्णिमाको दिनलाई काठमाडौंको स्थानीय भाषामा मिलापुन्हि भन्ने गरिन्छ भने यसै दिनलाई भक्तपुरतिर छ्याला पुन्हि भनिन्छ । छ्याला पुन्हिमा भक्तपुरमा माटाका भाँडाकुडा फुटाउने परम्परा रहेको छ ।

‘छ्यालापुन्हिमा भक्तपुरमा र काठमाडौंमा चाँगुनारायणको कलश यात्रामा माटाका भाँडाकुडा फुटाउने चलनमा केही सम्वन्ध छ कि वा यी दुई अन्तरसम्वन्धित हुन् कि ?’

यो प्रश्नमा चाँगुनारायणका मूल पूजारी राजोपाध्याय यी दुई बीच कुनै सम्वन्ध नै नभएको दावी गर्छन् ।

‘अहिले चाँगुनारायण नगरपालिका भक्तपुर जिल्ला भित्र परेपनि चाँगुनारायणको सम्वन्ध भक्तपुरसँग खासै जोडिएको पाइन्न । यसको सम्वन्ध काठमाडौंसँगै जोडिएको छ । भक्तपुरको चलनसँग जोडिएर यसरी माटाका भाँडाकुडा फुटाउन थालिएको भन्न सकिने अवस्था छैन’ राजोपाध्यायले भने ।

‘विकृति हो माटाका भाँडा फुटाउने काम’

चाँगुनारायणका मूल पूजारी चक्रधरानन्द राजोपाध्याय यसरी माटाका भाँडाकुडा फुटाउनुलाई विकृती नै मान्छन् ।

एक त आफुहरु जाडो, चिसो मौसममा नाङ्गो खुट्टा हिँड्दै आउनुपर्ने, त्यसमाथि आफु हिँडेर जाने बाटोमै भाँडाकुडा फुटाइदिँदा माटाका टुक्राटाक्री खुट्टामा बिझ्ला, चोटपटक लाग्ला कि भनेर डराउनुपर्ने अवस्था भएको उनको भनाई छ ।

यस्तै अनुभव चाँगुनारायण पुजारी आभाषको पनि रहेको छ । माटाका भाँडाहरु फाल्दै फुटाउँदा त्यसले आफुलाई नै लाग्ला कि भनेर डराउनुपने अवस्था हुन थालेको आभाष बताउँछन् ।

‘त्यहाँ भाँडाकुडा फुटाउने काम उत्छृङ्खल ढङ्गले नै हुन्छ । ती माटाका भाँडाहरुले आफुलाई लाग्ला कि, अझ कलशमै लाग्ला कि भन्ने त्रास समेत हुन्छ । साथमा, माटाका टुक्राले खुट्टामा बिझ्ला, घाउ चोटपटक लाग्ला कि भन्ने डर पनि रहन्छ’ आभाष भन्छन् ।

भाँडाकुडा फुटाउने काममा संलग्न संस्था वा व्यक्तिहरुले गलत सन्देश प्रवाह गरिरहेको पनि आभाषको बुझाई छ त्यहाँ राखिने ब्यानरले चाँगुनारायणको कलश फुटाउने जात्रा भन्ने खालको सन्देश दिएको आभाष भन्छन् ।

‘ब्यानरमा चाँगुनारायण र माटोको भाँडाकुडा फुटाउने जात्रा भनी लेखियो । एक त यो माटोको भाँडाकुडा फुटाउने जात्रा होइन, चाँगुनारायणको कलश यात्रा हो । त्यसमा फेरी चाँगुनारायण र माटोको भाँडाकुडा फुटाउने जात्रा भन्दा चाँगुनारायण नै फुटाउने भन्ने अर्थमा पो बुझिने भयो’ आभाषले भने ।

साथमा ब्यानरमा लेखिए अनुसार चाँगुनारायणको कलश यात्राको आयोजक नै क्लब जस्तो देखिएको पनि आभाषको भनाई छ ।

हनुमान ढोकाको सिको गर्दै अहिले नक्सालमा पनि माटाका भाँडाकुडा फुटाउन थालिएको मूल पुजारी चक्रधरानन्द बताउँछन् ।

आफुले मखनमा बाटोमा हिँड्नै अप्ठ्यारो भइकन यस्तो काम नगरिदिउँ भनेर अनुरोध गर्दा पनि वास्ता नगरेको बताउँदै मूल पूजारी चक्रधरानन्दले परम्पराको मौलिकतालाई नबिगारी अत्छृङ्गल कार्य बन्द गरिदिन अनुरोध गरे ।

Categorized in संस्कृति