arin enterprises

कोरोना संक्रमणपछि ट्रम्प अस्पताल भर्ना भए

SamacharDesk – बिकाश | २०७७ आश्विन १७, शनिबार

कोभिड १९ बाट संक्रमित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अस्पताल भर्ना गरिएको छ ।

शुक्रबार संक्रमण पुष्टि भएका ट्रम्पलाई थप उपचारका लागि बेथेस्डा, मेरील्याण्डस्थित वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टर लगिएको ह्वाइट हाउसबाट जारी सूचनामा भनिएको छ ।

सामान्य ज्वरो आएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको बताइएको छ ।

ट्रम्प आफ्नो विशेष हेलिकोप्टरबाट मेडिकल सेन्टर गएका थिए ।

ट्रम्पले एक ट्वीट गर्दै आफु र आफ्नी श्रीमति मेलानियालाई कोभिड १९ संक्रमण भएको घोषणा गरेका थिए ।

 आफूलाई संक्रमण भएको घोषणा गरेको करिब १७ घण्टापछि ट्रम्प अस्पताल गएका थिए । केही थकित देखिए पनि उनको मनोबल उच्च रहेको ह्वाइट हाउस श्रोतले बताएको छ । 

ह्वाइट हाउसका चिकित्सक कोन्लीले ट्रम्पलाई परीक्षणका क्रममा रहेको औषधिसँगै जिङक, भिटामिन डि, फोमाटिडिन, मेलाटोनिन र एसप्रिन दिइएको बताएका छन् ।

अस्पताल जानु अघि ट्रम्पले आफु र आफ्नी श्रीमतिकोस्वास्थ्य लाभको कामना गर्नेहरुलाई धन्यवाद दिए ।

राष्ट्रपति पदको चुनावका प्रतिस्पर्धी जो बाइडेन लगायतले ट्रम्पको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

ट्रम्पलाई कोभिड संक्रमण भएपछि आसन्न निर्वाचन प्रभावित हुने हो कि भन्ने आशंका पैदा भएको छ ।

अमेरीकामा कोरोना महामारीको अवस्थालाई लिएर पछिल्लो समय ट्रम्प निकै आलोचित हुँदै आएका छन् । अमेरीका विश्वमा कोरोना महामारीबाट सबैभन्दा बढि प्रभावित मूलुक हो ।

यहाँ करीब साढे ७५ लाख व्यक्ति कोभिड १९ बाट संक्रमित भइसकेका छन् भने २ लाख १३ हजार बढिको मृत्यु भइसकेको छ ।

Categorized in अन्तर्राष्ट्रिय