arin enterprises

नेपालमा थप दुई जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज

SamacharDesk – विकाश | २०७७ बैशाख २८, आइतबार

आजै दुई जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । 

विराटनगरको कोसी अस्पतालमा उपचाररत दुई जना संक्रमणमुक्त भएपछि दुई जनालाई डिस्चार्ज गरिएको हो ।

पछिल्लो २४ घन्टामा दुइवटा परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरिएको हो ।

झापा बाह्रदशी गाउँपालिकाका ६३ वर्षीय पुरुष र भोजपुर हतुवागढीका २६ वर्षीय युवक कोरोनामुक्त भएका हुन् ।

भोजपुरका युवकमा गत वैशाख ११ गते कोरोना संक्रमण देखिएको थियो । उनी गत फागुनको अन्तिम साता साउदीबाट नेपाल आएका थिए ।

यस्तै झापाका पुरुषमा वैशाख १४ गते संक्रमण देखिएको थियो । उनी भारतको दिल्लीबाट आएका थिए ।

कोरोना परिक्षण नेगेटिभ देखिएपनि केही दिन भने क्वारेन्टाइनमै बस्नुपर्ने बताइएको छ । जनप्रतिनिधिको समन्वयमा आज अस्पतालबाट डिस्चार्ज भएका दुबै घरमा नै क्वारेन्टाइन बस्ने अस्पतालले जनाएको छ ।

योसँगै नेपालमा कोरोनाबाट निको हुनेको संख्या ३३ पुगेको छ । जसमा तीन जनामा भने पुनः संक्रमण देखिएपछि अस्पताल भर्ना भएका छन् । 

दुई जना डिस्चार्ज भएसँगै कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ । प्रदेश १ मा संक्रमितको संख्या ३५ छ । जसमा १६ जना डिस्चार्ज भएका छन् भने १९ जना उपचाररत छन् ।

 

पछिल्लो २४ घन्टामा संक्रमण देखिएन 

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा कुनै पनि नयाँ संक्रमण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयले जनाएको छ ।

गत २४ घन्टामा भएको एक हजार ३ सय १६ परिक्षणमा कसैमा पनि संक्रमण नदेखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

मन्त्रालयको नियमित प्रेस व्रिफिङमा हालसम्म ७३ हजार ५ सय ५५ परिक्षण भएको डा. देवकोटाले जानकारी दिनुभयो ।

पिसिआर विधिबाट गरिएको परिक्षण संख्या जम्मा १६ हजार ८ सय ९८ र आरडिटिबाट गरिएको परिक्षण संख्या ५६ हजार ६ सय ५७ रहेको छ ।

पछिल्लो २४ घन्टामा एक हजार ३ सय १६ नमूनाको परिक्षण गरिएको डा. देवकोटाको भनाई थियो ।

सोही प्रेस व्रिफिङमा डा. देवकोटाले संक्रमण निको भएका व्यक्तिहरुलाई सामान्य जीवन यापन गर्नको लागि मद्दत गर्न स्थानीय समाज र स्थानीय सरकारलाई आग्रह गर्नुभयो ।

संक्रमण निको भइसकेका व्यक्तिहरुबाट कुनै पनि किसिमको संक्रमण सर्ने सम्भावना नभएको वा जोखिम नभएको अवस्थामा उनीहरुलाई विभेद गरिन नहुने डा. देवकोटाको भनाई थियो ।

Categorized in राष्ट्रिय