उजंको राजमतिचा, २४ घण्टामा ४९ हजार बढि भ्यूजः भिडियोसहित
SamacharDesk – बिराज | २०८० कार्तिक २६, आइतबार
उजं शाक्य, चिन्नुहुन्छ नि ? उजं शाक्यलाई चिनाउन एउटा गीत नै काफी छ । लकडाउनको समयमा घर बस्दै ‘मैंचा’ बनाएर सार्वजनिक गरेका उजं यहि गीतबाट युवा पुस्तामा चर्चित बन्न पुगे ।
उनै उजं शाक्यले तिहार र नेपाल सम्वत न्हूदँ ११४४ को अवसरमा आफ्नो नयाँ गीत आफ्ना फ्यानहरु माझ ल्याएका छन् । उजंको नयाँ गीत ‘राजमतिचा’ शनिबार सार्वजनिक भएको छ ।
उजंकै युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतले २४ घण्टामै ४८ हजार बढि भ्यूज पाइसकेको छ । समाचारडेस्कको यो सामग्री तयार हुँदासम्म यस गीतको ४९ हजार २६८ भ्यूज पुगेको छ ।
हिजो, मात्र १३० सब्सक्राइबर भएको उजंको नयाँ युट्युब च्यानलमा यो गीत रिलिज हुने वित्तिकै अहिले सब्सक्राइबर संख्या एक हजार ५ सय माथि पुगिसकेको छ ।
त्यसैगरी लाइक करीब साढे चार हजार पुगेको छ भने कमेन्ट ३ सयको नजिक पुगिसकेको छ ।
गीतको रचनादेखि लिएर संगीत पनि उजंकै रहेको छ । यस गीतमा एक चर्चित युवती राजमतिसँग गीतका नायकको पहिलो नजरमै बस्न जाने प्रेम कथालाई चित्रण गरेको उजं बताउँछन् ।
‘प्रत्येक नारीमा राजमति हुन्छ जस्तो मलाई लाग्छ, गीतको शब्द र संगीतमार्फत मैले हरेक राजमतिको बाहिरी मात्र नभई भित्री सौन्दर्य र निश्चलता, चंचलतालाई पोख्न खोजेको छु’ उजंले भने ।
गीतमा दर्शकलाई सरप्राइज प्याकेज पनि रहेको छ ।
गीतको अन्त्यमा ‘राजमति’ चलचित्रकी राजमति हिसिला महर्जनको पनि स्पेशल एपिरियेन्स रहेको छ ।
यति मात्र नभई, भाइरल बनेको नेपालभाषाको गीतहरु ‘सालूगु गाचा’ र ‘अयलाः लूवया’ का नायक मोडल मनोज महर्जन र युट्युब भाइन्समा ‘बा’ क्यारेक्टरबाट चर्चित बनेका आशुतोष वाराही पनि गेस्ट एपिरियन्समा रहेका छन् ।
म्यूजिक भिडियोको निर्देशन पनि आशुतोषले नै गरेका छन् ।
गीतको छायाङ्कन र दृश्य सम्पादन भने रपिल महर्जनले गरेका छन् ।
उजंको मैंचाले गीत रिलिज भएको ३ वर्षमा ६२ लाख ६२ हजार ५ सय बढि भ्यूज पाइसकेको छ । अब राजमतिचाले मैंचाको रेकर्ड ब्रेक गर्छ कि गर्दैन भन्ने हेर्नको लागि भने केही समय कुर्नै पर्ने हुन्छ ।
Categorized in पेजथ्री