बालयौन शोषण गरेको आरोपमा अमेरिकी नागरिक पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०७७ चैत्र १८, बुधबार

बालयौन दुराचारको अभियोगमा पोखरामा एक अमेरिकी नागरिक पक्राउ परेका छन् । पोखरा–१८ सेदीस्थित बिष्णु होमस्टेबाट अमेरिकाको क्यालिफोर्निया ठेगाना भएका माइकल नोरम्यान टेलोरलाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा माइकलले सन् २०१९ मा ३ जना बालबालिकाहरुलाई बालयौन शोषण गरेका खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
पीडित बालक र अभिभावकहरुबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी प्राप्त भएपछि घटनाको खुलासा भएको हो ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले माइकललाई पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा माइकल सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको देखिएको प्रहरीले जनाएको छ ।
अमेरिकामा रहँदैदेखि बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक संजालमार्फत सम्पर्क गर्ने गरेका थिए । २०२१ मार्च २१ मा नेपाल आई बालयौन दुराचारको मनसाय राखी पोखरा गएको समेत अनुसन्धानमा खुल्न आएको प्रहरीको भनाई छ ।
उनको साथबाट ४ हजार ६ सय अमेरीकी डलर, एक थान ल्यापटप, २ थान मोबाइल, एक थान आइप्याड, एक थान पेनड्राईभ र एक थान अमेरिकन राहदानी प्रहरीले बरामद गरेको छ ।
घटनाको सम्वन्धमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउनको लागि जिल्ला प्रहरी कार्यालय कास्की पोखरामा बुझाईएको केन्द्रीय अनुसन्धान व्यूरोले जनाएको छ ।
Categorized in अपराध