arin enterprises

प्रणय दिवस : विदेशी पर्व अँगाल्दै, मौलिक पर्व विर्सिंदै

SamacharDesk – राम डंगोल | २०८० फाल्गुण २, बुधबार

१४ फेबु्अरी “भ्यालेन्टाइन्स डे” अर्थात प्रणय दिवस ।

नेपालसहित विश्वभरका प्रेमिप्रेमिकाहरु एक आपसमा माया साटासाट गर्दै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाइन्छ । आजको दिन माया गर्नेहरु विशेष पर्वकै रुपमा मनाइन्छ । विशेषगरी युवायुवतीहरुले एकअर्काबीचको अब्यक्त प्रेमलाई व्यक्त गर्ने अवसरको रुपमा आजको दिनलाई लिने गरिन्छ ।

क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई विशेष मायाको पर्वको रुपमा मनाउने गरेको भएपनि बढ्दो सूचना र प्रविधिको विकाससँगै प्रेम दिवस विश्वभरमा नै मनाउन थालिएको हो ।

हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिएको पाईन्छ ।

यस दिन युवायुवतीले प्रेमको प्रतीक रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव एक अर्काप्रति पस्कने गर्छन् । युवापुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् ।

विश्वभर नै चर्चित रहेको यस दिन भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको बताइन्छ ।

हजारौं वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा कुनै पनि सैनिकले विवाह नगरुन भन्ने उर्दी जारी गरेका थिए । सैनिकहरु विवाह बन्धनमा बाँधिएको खण्डमा युद्ध सफल नहुने धारणा राख्ने राजाको आदेशविरुद्ध भ्यालेन्टाइन नामका पादरीले धेरैको विवाह गराएका थिए ।

आफ्नो आदेशको विरुद्धमा सैनिकहरुको विवाह गराएको भन्दै १४ फेब्रुअरीमा पादरीलाई फाँसी दिएको र सोही दिन पादरीले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएको सम्झनामा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस मनाउन थालिएको उल्लेख छ ।

नेपालमा पनि पछिल्लो केहि बर्षयतादेखि युवायुवतीहरुले एकआपसमा उपहार आदानप्रदान गरेर प्रेम दिवस मनाइरहेका छन् । प्रेम दिवसको अवसर पारेर बिभिन्न पार्क, रमणीय स्थानमा गएर युवायुवतीहरु रमाउँछन् ।

नेवाःहरुको प्रेम दिवस “मतिना पारु”

क्याथोलिक र रोमन समुदायका नागरिकले मात्र मनाउने गरेको प्रणय दिवस बढ्दो सूचना र प्रविधिको विकाससँगै विश्वभरमा नै मनाउन थालिएको छ ।

प्रचारप्रसारकै अभाव हाम्रो मौलिक प्रेम दिवस “मतिना पारु” बारे भने नेपालीहरु नै अनभिज्ञ रहेको अवस्था छ । हामीमा बिदेशी प्रभाव यति भैसक्यो कि उस्तै परम्पराको हाम्रो संस्कृती भुल्दै गएका छौ भने बिदेशी पर्व अंगाल्दै गइरहेका छौ ।

"भ्यालेन्टाइन डे" मात्र होइन "अप्रिल फुल", "ह्यापी न्यू यर" जस्ता धेरै यस्ता पर्वहरु हामीले अंगाल्दैछौ । जुन पर्व हाम्रो नेवा संस्कृतीमा पहिले नै बिद्यमान थियो ।

मतिना भन्नाले माया वा प्रेम हो भने पारु भन्नाले एक तिथि हो । यसरी मतिना पारु भन्नाले माया प्रेम गर्नेहरुको दिन वा दिवस भन्ने बुझिन्छ । यो पर्व यःमरि पुन्हीको भोलिपल्ट मनाउने गरिन्छ ।

नेवारहरु आफ्नो धार्मिक संस्कार, नित्य कर्मका साथसाथै माया, प्रेम, दया, करुणा आदि प्रेमसँग सम्बन्धित कुराहरुमा पनि अगाडि रहेका छन् भन्ने यस पर्वले ईंगित गरेको पाइन्छ ।

परम्परागत समाज अहिले जस्तो माया प्रेममा विषयमा खुल्ला थिएन। यसरी बन्धनले बाँधिएको समाजमा यःमरि पुन्हिका दिन टोल टोलमा गएर ‘यःमरि फ्वनेगु’ परम्परा अनुसार यःमरि माग्दै जाने क्रममा आफ्नो प्रेमी खोज्ने र प्रेमी सँग सुटुक्क कुरा गर्ने चलन थियो ।

त्यो बेला अहिले जस्तो फोन मोबाइल नभएको बेलामा यःमरि फ्वनेगु क्रममा सुटुक्क भेटी, कागजमा लेखेर सुटुक्क आदान प्रदान गरी कता कहिले भेट्न आउने कुरा साट्छन् ।

त्यसै अनुसार मतिना पारुका दिन भेटघाट हुन्छ । पौराणिक कालदेखि नै नेवाःहरुमा प्रेम बन्धनमा बाँधिएका जोडीहरु जात्रा तथा पर्वहरुमा भेट्ने, देवी देवताहरु दर्शन गर्न आउने क्रममा प्रेमी प्रेमिकाहरु एक आपसमा भेटघाट गर्ने र प्रेम साटासाट गर्ने गर्दथे ।

तसर्थ हाम्रो आफ्नै मौलिक चाड पर्वहरु हुँदाहुँदै अन्य देशबाट आयातित पर्वहरुलाई बढी प्राथमिकता दिने र त्यो पर्वको राम्रो पक्ष भन्दा नराम्रो पक्षलाई बढी आत्मसाथ गरी विकृति फैलिएको पाइन्छ ।

अहिलेको अवस्थामा नेवाःहरुमा मात्र सीमित यस पर्वलाई सरकारीस्तरबाटै प्रचारप्रसारमा ध्यान दिई नेपालकै राष्ट्रिय पर्वको रुपमा मनाउन जरुरी छ ।

अन्यथा आफ्नो मौलिक पर्वहरु बिर्सिदै जाने र विदेशी पर्वहरुलाई अंगाल्दै जाँदा हाम्रो पहिचान नै गुम्दै जानेमा दुईमत नहोला ।

यस्तै आफ्नो मौलिक चाडपर्वहरु नयाँ पुस्तालाई हस्तान्तरण गर्ने तथा हाम्रो मौलिक चाडपर्वहरुलाई प्रचारप्रसार गर्ने र त्यसको महत्वबारे जानकारी दिन सके हामा यस्ता पुर्खादेखि चलेका मौलिक परम्पराहरुलाई जोगाइराख्न सक्ने देखिन्छ ।

Categorized in विचार