arin enterprises

विश्व शौचालय दिवस मनाईँदै

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ मङ्सिर ३, बुधबार

आज नोभेम्बर १९, विश्वभरी विभिन्न कार्यक्रम गरी विश्व शौचालय दिवस मनाईँदैछ ।

संयुक्त राष्ट्र संघले १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको रुपमा मनाउँदै आएको छ ।

यस वर्ष शौचालय दिवसको लागि ‘बदलिँदो संसारमा सरसफाइ’ (Sanitation In a Changing World) राखिएको छ । यो नाराले बदलिँदो विश्वसँग मिलेर जाने सरसफाइ प्रणालीको आवश्यकता जनाउँछ। 

विश्वका सबै नागरिकहरुलाई सुरक्षित शौचालयको पहुँचमा पुर्याउने तथा विश्वमा स्वास्थ्य र सरसफाईको स्तर कायम गरी मानव जीवन सुरक्षित बनाउने उद्देश्यले विश्व शौचालय दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र संघले सन् २०१३ देखि १९ नोभेम्बरलाई विश्व शौचालय दिवसको मनाउन थालेको हो । राष्ट्र संघको महासभामा सिंगापुरले यो प्रस्ताव पेश गरेको थियो । त्यसयता राष्ट्र संघको यूएन वाटर भन्ने निकायले यो दिवस मनाउने कार्यको संयोजन गर्दै आएको छ ।

त्यस अगाडि सिंगापुरमा अवस्थित विश्व शौचालय संस्था (वल्र्ड ट्वाई्लेट अर्गनाइजेशन) नाम एक गैरसरकारी संस्थाले सन २००१ देखि अनौपचारिक रुपमा विश्व शौचालय दिवस मनाउन थालेको थियो ।

शौचालय, चर्पी, ट्वाइलेट, रेस्टरुम वा वासरुम मानव समाजको लागि अपरिहार्य कुरा हो । मानव समाजको आधारभूत आवश्यकता हो यो ।

नेपालमा २०७६ साल असोज १३ गते खुला दिसामुक्त घोषणा भइसकेको छ । यद्यपि आजको दिनसम्म पनि देशको संघीय राजधानी काठमाडौंमै पनि खोला छेउछाउ लगायत गल्ली, कुनाकाप्चाहरुमा खुला रुपमा दिसापिसाब गर्ने गरिएको पाइन्छ ।

खुला स्थानमा दिसापिसाब गर्नाले यसले खानेपानीका स्रोत, मुहान, खोला, नाला, नदी प्रदूषित गराउने र त्यसबाट हैजा, टाइफाइड, झाडापखाला लगायत विभिन्न रोग फैलाउन सक्छ ।

झन धेरै गाँउहरुमा व्यवस्थित शौचालयको सुविधा छैन । कतिपय सरकारी अस्पताहरुकै शौचालय निकै फोहोर र दुर्गन्धित रहेको पाइन्छ ।

सार्वजनिक शौचालयको कमीले बाटोमा शौच लाग्दा अप्ठ्यारो पर्ने स्थिती छ । भएका सार्वजनिक शौचालयमा पनि महंगो शुल्क तिर्नुपरेको गुनासो आम उपभोक्ताको रहेको छ ।

देशका हरेक कुनाकाप्चामा शौचालयको सुविधा सहज बनाउनुका साथै निःशुल्क सार्वजनिक शौचालयको सुलभ व्यवस्था गर्नुतर्फ सरकार र सम्वन्धित निकायको ध्यान जानु जरुरी देखिन्छ ।

यस विषयमा सरकारकै मात्र मुख ताक्नुभन्दा अझ यस क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाले पनि उपलब्धी र नतिजामूलक काम देखाउनु आवश्यक छ ।

Categorized in समाज