arin enterprises

पुरानो बसपार्कमा आज साँझबाट सवारी प्रवेशमा रोक

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख १५, बुधबार

काठमाडौं महानगरपालिकाले आज साँझबाट खुल्ला मञ्चमा रहेको सिटी बसपार्कमा सवारी प्रवेशमा रोक लगाएको छ । साँझ परेपछि वीर अस्पतालतर्फको प्रवेश द्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोक लगाएको हो ।

बैशाख ९ गते महानगरले खुल्ला मञ्चलाई मौलिक प्रयोगमा ल्याउन आजबाट खुल्ला मञ्चबाट बसपार्क सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

नगर प्रहरी उपरीक्षक धनपति सापकोटाकाअनुसार यस बसपार्कबाट करीब ४० कम्पनीका ६ सय सवारी साधन सञ्चालनमा थिए, जसमध्ये करीव २७ वटा कम्पनीले छोटो दुरुीका र करीब १३ वटा कम्पनी मध्यम दुरीका सवारी सञ्चालन गरिहेका छन् ।

महामारी रोकथामका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी आदेशको अवधिपछि यहाँबाट सञ्चालन हुने सार्वजनिक यातायातका साधनलाई २ तरिकाबाट व्यवस्थापन गरिनेछ ।

टिकट काउन्टर राखेर चलेका मध्यम दुरीका गाडी गोङ्गबु बस पार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दुरीका सवारी पिक एण्ड ड्रप प्रणालीबाट चल्नेछन् ।

पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सार्वजनिक सूचना प्रकाशन गरेर महानगरले निवेदन माग गरेको थियो । प्राप्त निवेदनका विषयमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्नेछन् ।

साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौँ टावर निर्माण हुने भएपछि २०७३ सालदेखि निश्चित अवधिका लागि बसपार्कलाई खुल्ला मञ्चमा सारिएको थियो ।

Categorized in स्थानीय