arin enterprises

रहेनन् राते काईँला सुनिल थापा

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ माघ २४, शनिबार

नेपाली चलचित्र क्षेत्रमा राते काइला नामले चर्चित वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।

६८ वर्षीय थापाको हृदयाघातका कारण आज बिहान निधन भएको हो ।

थापालाई शुक्रवार राति नै शंखुमलस्थित उनको अपार्टमेन्टमा हृदयाघात भएको थियो । त्यसपछि तत्काल उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो भने सोही अस्पतालमा उपचारकै क्रममा शनिवार बिहान उनको निधन भएको हो ।

उनका परिवारका अन्य सदस्यहरू भारतको मुम्बई बस्दै आएका छन् ।

‘चिनो’ चलचित्रमार्फत उनलाई राते काइँलाको उपनामले चिनिन थालेको थियो ।

नेपाली चलचित्र क्षेत्रमा चिनो चलचित्रको राते काईँला पात्रलाई बलिउडको सर्वाधिक चलचित्र ‘शोले’ का चर्चित पात्र गब्बर सिंहसँग दाँज्ने गरिन्छ । गब्बरको ‘कितने आदमी थे’ डायलग जस्तै राते काईँलाको ‘यो कुरा मलाई मनपर्यो’ डायलग चर्चित छ ।

पछिल्लो समय हिन्दि चलचित्र ‘मेरी कोम’बाट निकै चर्चित भएका थापाको अभिनय यात्रा हिन्दि चलचित्रबाटै भएको थियो । सन् १९८१ मा रिलिज भएको बलिउड फिल्म ‘एक दूजे के लिए’ उनको पहिलो चलचित्र हो ।

त्यसपछि उनले ‘आज की आवाज’ चलचित्रमा पनि अभिनय गरेका थिए । सन् १९८२ मा नेपाली फिल्म ‘मशाल’ मार्फत नेपाली फिल्ममा अभिनय गर्न थालेका थिए ।

उनले नेपाली र हिन्दीको साथै भोजपुरी, तेलुगु, तमिल, बंगाली आदि भाषाका फिल्महरुमा समेत अभिनय गरेका छन् ।

Categorized in पेजथ्री