arin enterprises

भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईंदै

SamacharDesk | २०८१ कार्तिक २, शुक्रबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार र शनिबार गरी दुई दिन देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाईंदैछ ।

राष्ट्रिय पोषण कार्यक्रम अन्तर्गत पाँच वर्ष मुनिका बालबालिकालाई औषधि खुवाउन लागिएको हो । बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई मन्त्रालयले आग्रह गरेको छ ।

साथै, १५ महिनासम्म लगाउनुपर्ने कुनै पनि नियमित खोप छुटेको भए पाँच वर्ष मुनिका बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा छुटेको खोप लगाउन पनि मन्त्रालयले आग्रह गरेको छ ।

सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो ।

भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।

सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ ।

Categorized in राष्ट्रिय