देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईंदै
SamacharDesk | २०८० बैशाख ६, बुधबार

देशभरका बालबालिकालाई सरकारले भिटामिन ए र जुकाको औषधी खुवाईँदैछ ।
सरकारले आज र भोलि दुई दिन राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम संचालन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन भएको जनाएको छ ।
बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई मन्त्रालयले आग्रह गरेको छ ।
भिटामिन ‘ए’ करिब २७ लाख बालबालिका र जुकाको औषधि करिब २४ लाख बालबालिकालाई खुवाइने अभियान रहेको जनाइएको छ ।
सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि खुवाउन थालेको हो ।
भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिकालाई तथा जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।
सरकारले बालबालिकालाई वैशाख र कात्तिकमा गरी दुई पटक भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क खुवाउने गरेको छ ।
Categorized in राष्ट्रिय