राती १० देखि विहान ५ बजेसम्म हिँडडुल गर्न निषेध
SamacharDesk – विकाश | २०७७ आषाढ ५, शुक्रबार

परिवर्तित स्वरुपमा जारी लकडाउनलाई व्यवस्थित गर्न भन्दै सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको छ ।
शुक्रबार गृह मन्त्रालयले ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गर्दै सर्वसाधारणलाई राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।
सुरक्षा मापदण्डमा अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई राती १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुल गर्न पूर्णतः निषेध गरिएको भनेको छ ।
साथै गृहले मालवाहक सवारी साधनले चालक र सहचालक बाहेक अन्य कुनै पनि यात्रुहरुको ओसार पसार नगर्न नगराउन पनि निर्देशन दिएको छ ।
गत असार १ गतेबाट सरकारले जारी लकडाउनलाई खुकुलो बनाएको छ । संक्रमणको जोखिम कायम रहेको अवस्थामा सर्वसाधारणको दैनिक जनजीवनलाई सहज बनाउन मापदण्ड लागू गरिएको गृहले जनाएको छ ।
सोही मापदण्डमा विवाह, व्रतवन्ध, मृत्यु संस्कार, चाडपर्व, पूजा पाठ लगायतका सामाजिक साँस्कृतिक कार्यक्रमहरुमा १५ जना भन्दा बढि व्यक्तिहरु भेला हुन नपाउने र सामाजिक दुरी कायम गर्न पनि भनेको छ ।
उद्योग, कलकारखानाको साथमा भौतिक पूर्वाधार निर्माण, विकास निर्माण जस्ता क्रियाकलापमा पनि १० जना भन्दा बढि भेला नहुन मापदण्डले निर्देशित गरेको छ ।
ज्येष्ठ नागरिक, दीर्घरोगी, सुत्केरी र गर्भवती महिला, १० वर्षभन्दा कम उमेरका बालबालिका र अशक्त नागरिकलाई अत्यावश्यक तथा स्वास्थ्य प्रयोजनमा बाहेक बाहिर ननिस्किन पनि पनि मापदण्डमार्फत गृहले आग्रह गरेको छ ।
