arin enterprises

अपहरण मुद्दामा फरार अभियुक्त १२ वर्षपछि पक्राउ

SamacharDesk – बिराज | २०७७ पौष १५, बुधबार

अपहरण साथै शरीर बन्धक मुद्दाका एक फरार अभियुक्त १२ वर्षपछि पक्राउ परेका छन् ।

२०६५ सालको एउटा अपहरण मुद्दाका फरार अभियुक्त सर्लाही हरिवन नगरपालिका–९ का सोलेरकुमार भन्ने ३८ वर्षीय दुर्गा बहादुर बुढाथोकीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

बुढाथोकी भ्याली कोल्ड स्टोरका संचालक बाबुराजा रावल अपहरण गरेको मुद्दामा फरार रहेका थिए । २०६५ पुस १ गते दुर्गाबहादुर लगायत प्रल्हाद महत, बिष्णु जिसी, बङ्गुरे भन्ने बिकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, बिनोद कार्की र अनिल गुरूङ समेतको समूहले अपहरण गरेका थिए ।

रावललाई अपहरण गरी ज्यान मार्ने धम्की दिई फिरौती बापत १ करोड ५० लाख रुपैंया लिई पुस २ गते उनलाई टोखा पुर्‍याई छोडेर तिनीहरु फरार रहेका थिए ।

दुर्गाबहादुर योभन्दा अघि पनि विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको बताइएको छ । यसअघि पनि दुर्गाबहादुर नयाँ बानेश्वरस्थित एभरेष्ट होटलको पार्किङबाट मोटरसाइकल चोरी काण्डमा पक्राउ परेका थिए ।

मोटरसाइकल चोरी काण्डमा पक्राउ परेका दुर्गाबहादुर २०६४ वैशाख २५ गते महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासत कक्षबाट ग्रील तोडी फरार भएका थिए । त्यसअघि र पछि पनि विभिन्न आपराधिक घटनाहरु समेतमा संलग्न भई फरार रहेका थिए ।

प्रहरीको खोजीमा रहेका उनले आफ्नो पहिचान परिवर्तन गरेर ‘प्रकाश क्षेत्री’ को नामले भारतको दार्जिलिङ बजारमा ‘प्रकाश स्टोर्स’ नामक कपडाको होलसेल पसल संचालन गरी बसेको अनुसन्धानबाट खुल्न आएको हो ।

दुर्गा बहादुर पहिचान बदलेर बसेको थाहा पाएपछि प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले इलाम सूर्योदय नगरपालिका–२, पशुपतिनगर टोलबाट बुढाथोकीलाई पक्राउ गरेको हो ।

दुर्गाबहादुरलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको ब्यूरोले जनाएको छ ।

Categorized in अपराध