arin enterprises

वडाध्यक्ष महर्जनको दुई गीत सार्वजनिकः भिडियाे सहित

SamacharDesk – बिराज | २०८० कार्तिक ४, शनिबार

काठमाडौं महानगरपालिका १८ वडाका वडाध्यक्ष न्हुछेँकाजी महर्जनको दुई वटा गीतको म्यूजिक भिडियो एक साथ सार्वजनिक भएको छ ।

वडाध्यक्ष महर्जनबाट रचित नेपालभाषाको गीत ‘छंगु नुगलय्’ र नेपाली गीत ‘यो मनमा त्यो मन’ को म्यूजिक भिडियो काठमाडौंमा आयोजित कार्यक्रमका बीच सार्वजनिक भएको हो ।

गत बुधबार सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले दुवै गीत सार्वजनिक गरिन् । कार्यक्रममा कामपाका निवर्तमान प्रमुख विद्यासुन्दर शाक्यसमेतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा रचनाकार साथै वडाध्यक्ष महर्जन र म्यूजिक भिडियो निर्देशक पवन जोशीले गीतको श्रृजना, म्यूजिक भिडियो निर्माण पक्षका अनुभव र विभिन्न पक्षलाई लिएर प्रकाश पार्दै आआफ्ना मन्तव्य राखे ।

कामपाका उपप्रमुख डंगोल र निवर्तमान प्रमुख शाक्यले वडाध्यक्ष महर्जनको बहुप्रतिभाशाली व्यक्तित्वको साथमा सार्वजनिक गरिएका गीतहरुको बारेमा आआफ्नो धारणा राखे ।

सार्वजनिक गरिएका दुवै गीतमा राजेन्द्र शाक्यले स्वर दिएका छन् भने नेपालभाषाको गीतमा शाक्यलाई सरस्वती मानन्धरले साथ दिएका छन् । संगीत दीप तुलाधरले दिएका छन् ।

नेपालभाषाको गीतको म्यूजिक भिडियोमा रति महर्जनको साथमा वडाध्यक्ष महर्जनले आफैंले पनि अभिनय गरेका छन् । छायाङ्कन सोहन मानन्धर र अमर चित्रकारले गरेका छन् भने दृश्य सम्पादन सोहन मानन्धरले गरेका छन् ।

नेपाली गीतको छायाङ्कन भवानी शिलाकारले गरेका छन् भने दृश्य सम्पादन र निर्देशन रवि सायमिले गरेका छन् । गीतमा सुरज नापित र आराध्यालक्ष्मी खड्गीले अभिनय गरेका छन् ।

Categorized in पेजथ्री