फोहोर व्यवस्थापन तीनै तह सरकारको साझा दायित्व : प्रधानमन्त्री दाहाल
SamacharDesk | २०८० भाद्र १९, मंगलबार

काठमाडौं उपत्यकाका फोहोर दीर्घकालिन व्यवस्थापन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ ।
आज मंगलबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्रीले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायहरूसँग छलफल गर्नुभएको हो ।
बैठकमा बोल्नुहुँदै प्रधानमन्त्रीले आउँदो मन्त्रिपरिषद्को बैठकबाट देशभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरी ठोस निर्णय गरिने जानकारी गराउनुभयो ।
बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयहरूमा छलफल गरिनुका साथै यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ ।
प्रधानमन्त्रीले फोहोर व्यवस्थापन सङ्घीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताउँदै त्यसका लागि ठोस गृहकार्य गर्नसमेत निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले बोलाउनुभएको छलफलमा सहरी विकासमन्त्री सीता गुरुङ, नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल, सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतका प्रतिनिधिहरू उपस्थित हुनुहुन्थ्यो ।
Categorized in राष्ट्रिय