arin enterprises

बानेश्वर र शंखपार्कमा वाटर एटिएम संचालनमा

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख १३, सोमबार

काठमाडौंका थप दुई स्थानमा वाटर एटीएम स्टेशन संचालनमा आएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरको छक्कुपक्कु पार्क र वडा ४ को शंखपार्कमा महानगरको वाटर एटिएम स्टेशन संचालनमा आएको हो ।

आज काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले संयुक्त रुपमा एटीएम स्टेशनको शुभारम्भ गर्नुभयो ।

काठमाडौं महानगर प्रमुख शाक्य र उपप्रमुख खड्गीले ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का हालेर कपमा पानी थाप्दै पानी पिएर वाटर एटिएम स्टेशनको समुद्घाटन गर्नुभयो ।

वाटर एटिएम स्टेशनको शुभारम्भ गर्दै काठमाडौं महागनरपालिका प्रमुख शाक्यले बटुवालाई अलिकति पानी पिउनका लागि मिनरल वाटरको बोतल नै किन्नुपर्ने अवस्थाबाट मुक्ति दिलाउन भन्दै वाटर एटिएम स्टेशनको अवधारणा अघि बढाएको बताउनुभयो ।

‘बाटोमा हिँड्दै तिर्खा लाग्यो भने ३०–४० रुपैयाँ नै खर्च गरेर एक बोटल पानी किन्नुपर्ने अवस्था थियो, यस्तो अवस्थाको अन्त्य होस् भन्ने हाम्रो चाहना हो’ प्रमुख शाक्यले भन्नुभयो ।

काठमाडौं महानगर उपप्रमुख खड्गी श्रेष्ठले पानीको समस्या समाधान हुनु नै सबैभन्दा ठुलो उपलब्धि भएको बताउनुभयो ।

यसअघि गत माघ २९ गतेबाट शंखधर पार्क (रत्नपार्क) को टिकट काउन्टरसँगै, स्वयम्भु भगवान पाउ र बालाजु उद्यान प्रवेशद्वारसँगै वाटर एटीएम स्टेशन संचालनमा आइसकेको छ ।

महानगरले गत २०७६ चैत ९ गते स्वच्छ पिउने पानी उपलब्ध गराउन भन्दै स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटीएम) राख्नको लागि काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग सम्झौता गरेको थियो ।

सम्झौता अनुसार ३ वर्ष भित्र काठमाडौं महानगरको विभिन्न स्थानमा वाटर एटीएम स्थापना गर्नुका साथै सञ्चालन र व्यवस्थापन बोर्डले गर्नेछ । महानगरपालिकाले वाटर एटीएम रहने स्थानमा बत्ती र सुरक्षाको व्यवस्था गर्नेछ ।

Categorized in स्थानीय