बटुवाको तिर्खा मेटाउन काठमाडौँमा शुरु भयाे एटिएम पानी जरुंहिति
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७७ माघ २९, बिहिबार

बटुवाको तिर्खा मेटाउन भनी काठमाडौंका विभिन्न स्थानमा पानीको एटिएम मेसीन ‘जरुंहिति’ शुरु गरिएको छ । खानेपानी मन्त्री मणिचन्द थापाले आज बालाजुको साथमा शंखधर उद्यान र स्वयम्भुमा वाटर एटिएम मेसीनको उद्घाटन गर्नुभयो ।
शुरुमा रत्नपार्क परिसरमा शंखधर उद्यानको प्रवेशद्वार र स्वयम्भूमा वाटर एटिएम मेसीनको उद्घाटन पछि बालाजु पुगेर मन्त्री थापाले बालाजु बाइसधारा उद्यानको प्रवेशद्वारमा पनि मेसीनको उद्घाटन गर्नुभयो ।
वाटर मेसीनको उद्घाटनपछि मन्त्री थापाले ‘वाटर भेन्डिङ मेसिन’ मा सिक्का हालेर दुई वटा कपमा मिलिलिटर पानी भर्नुभयो । दुइमध्ये एक कप पानी सहरी विकास राज्यमन्त्री रामबीर मानन्धरलाई दिँदै एक कप पानी मन्त्री थापा आफैंले पिउनुभयो ।
पानी पिएपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री थापाले आधुनिक प्रविधिसँग जोड्दै काठमाडौँ महानगपालिकासँगको सहकार्यमा पहिलो पटक ‘वाटर भेन्डिङ मेसिन’को उद्घाटन गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
‘पहिलो चरणमा उपत्यकाका १५ स्थानमा यो सञ्चालन गर्ने तयारी छ, मन्त्री थापाले भन्नुभयो, ‘विस्तारै मुलुकभरीकै सहरमा यो व्यवस्था लागु गर्नेछौँ ।’
मन्त्री थापासँगै रहनुभएका राज्यमन्त्री मानन्धरले पनि आफ्नो निर्वाचन क्षेत्रमा रहेको ऐतिहासिक, सांस्कृतिक, धार्मिक र मनोरञ्जनको दृष्टिले महत्वपूर्ण स्थान बालाजु उद्यानकै प्रवेशद्वारमा आधुनिक प्रविधिको वाटर एटीएम उद्घाटन गर्दा खुशी लागेको बताउनुभयो ।
‘मेलम्चीको पानी आउने अन्तिम तयारी भैरहेका बेलामा यस्तो प्रविधिको सुरुवात हुनु आफैँमा खुशीको कुरा हो,’ मन्त्री मानन्धरले भन्नुभयो, ‘एक लिटर नै पानी किनेर खानुपर्ने बाध्यतालाई यो प्रविधिले अन्त्य गरेको छ ।’
मन्त्रीद्वयसँगै रहनु भएका खानेपानी सचिव माधव बेल्बासेले पनि छिट्टै राजधानीका १५ स्थानमा यो लागु गर्ने बताउनुभयो । थप ११ स्थानमा पनि छिट्टै वाटर एटिएमको शुरुवात गर्ने तयारी भइरहेको बेल्बासेको भनाई थियो ।
सस्तो मूल्यमा सर्वसुलभ ढंगले सर्वसाधारणलाई पिउने पानी उपलब्ध गराउने उद्देश्यले काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सहकार्यमा पहिलो चरणमा चार स्थानमा वाटर एटीएमको सुरुवात गरेको उहाँले बताउनुभयो ।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले काठमाडौं महानगरपालिकाले स्थान उपलब्ध गराउने र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बार्डले व्यवस्थापन गर्ने गरी महानगरपालिका क्षेत्र भित्रका पाँच स्थानमा वाटर एटीएम राखिने जानकारी दिनुभयो ।
नयाँ बानेश्वर र शंखधर पार्कमा पनि छिट्टै वाटर एटिएम संचालन गर्ने तयारी रहेको बस्नेतले जानकारी दिनुभयो ।
कुनै समय परम्परागत रुपमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका जरुंहितिमा बटुवाहरुले तिर्खा मेटाउने गरेको इतिहाससँग जोडेर महानगरपालिकाले वाटर एटीएमलाई पनि जरुंहिति नामाकरण गरेको बताएको छ ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अनुसार करीब २ करोडको लगानीमा उपत्यकाका १५ स्थानमा मेसिन राख्ने तयारी स्वरुप पहिलो चरणमा तीन स्थानमा उद्घाटन गरिएको हो ।
Categorized in स्थानीय