त्रिशुलीमा बेपत्ता बस र यात्रुहरुको खोजीकार्यमा वाटर ड्रोनको प्रयोग
SamacharDesk | २०८१ आषाढ ३०, शनिबार
सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका दुई वटा बस र बेपत्ता रहेका करिब ५० जना यात्रुको खोजी कार्य जारीछ ।
खोजि कार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन पानी भित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाईपलाइन इन्सपेक्सन सिस्टम सहित खोजीकार्य शुरु गरेको छ ।
र्यामफ्टबोटमा जडान गरेर पानी भित्रको बस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्याउँछ । सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित ४५ जना र नं. १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्त सहित ३५ जनाको सुरक्षा फौज उनीहरुको खोजीकार्यमा परिचालित भएको छ ।
साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन् । बेपत्ता भएको बस शुक्रबार बिहानैदेखि खोजी भइरहेपनि अहिलेसम्म नारायणी नदी किनारामा थप दुइटा शव फेला परे बाहेक अन्यको भेटिएको छैन ।
खोजी परिचालन भइरहेको अवस्थामा नारायणी नदीमा थप दुई जना पुरुषको शव भेटिएको हो । एउटा शव बालुवामा पुरिएको अवस्थामा र एउटा शव तैरिएको अवस्थामा भेटिएको थियो ।
बीरगंजबाट काठमाडौतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपपालिका–२९ सिमलताल असार २८ गते बिहान त्रिशुलि नदिमा खसेको थियो ।
Categorized in राष्ट्रिय