WDB को हजाराैं श्रृङ्खला आज प्रसारण हुँदै
SamacharDesk – बिराज | २०८१ बैशाख १८, मंगलबार

वर्ल्ड नेवाः अर्गनाइजेसनले जुमको माध्यमबाट दैनिक रुपमा संचालन गर्दै आएको कार्यक्रम वर्ल्ड डेली ब्रोडकास्ट (WDB) को एक हजाराैं श्रृङ्खला आज प्रसारण हुँदैछ ।
नेवाः समुदायका विभिन्न व्यक्तित्वहरुको अन्तर्वार्ता कार्यक्रम WDB को एक हजार एपिसोड आज प्रसारण हुन लागेको हो ।
नेपाली समय अनुसार आज मंगलबार बेलुकी ८ः३० बजे WDB को हजारौं एपिसोड जुममार्फत हुनेछ भने सामाजिक संजाल फेसबुकबाट लाइभ पनि हुनेछ ।
आजको कार्यक्रममा विगतको ९९९ एपिसोडको रिक्यापलाई मनोरन्जनात्मक ढङ्गले प्रस्तुत गर्न लागिएको वर्ल्ड नेवाः अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष संयुक्त श्रेष्ठले जानकारी दिए ।
आजको हजार संख्याको एपिसोडमा नेवाः चिनौं नामक खेल खेलाइने अध्यक्ष श्रेष्ठले बताए ।
‘आज कसैको अन्तर्वार्ता नलिइ, एउटा खेल खेल्न लागेको छौं । ९९९ एपिसोडसम्म हामीले लिएको अन्तर्वार्ताबाट डाटाबेसबाट कुनै एउटा भिडियो र्यान्डमली तानिनेछ र त्यो व्यक्ति को हो भनेर सहभागीहरुले चिन्नुपर्नेछ’ श्रेष्ठले थपे ।
जुममार्फत वा फेसबुकमा कमेन्टमार्फत सहभागीहरुले उत्तर दिन सक्ने श्रेष्ठले जनाए । आजको एपिसोडमा जुममा सहभागीमध्येबाट ३ जनालाई एक हजार रुपैयाँको मोबाइल टप अप पुरस्कार राखिएको पनि उनले बताए ।
आजको कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर साथै गुगल ट्रान्सलेट कार्यक्रमकी पहिलो अतिथि सुनिता डंगोलको उपस्थिती रहने बताइएको छ ।
वर्ल्ड नेवाः अर्गनाइजेसनले गुगल ट्रान्सलेसनमा नेपालभाषा पनि समावेश गराउने उद्देश्य लिइ दैनिक रुपमा गुगल ट्रान्सलेट कार्यक्रम पनि संचालन गर्दै आएको छ ।
आजभन्दा तीन वर्ष अघि २०७८ साउन १४ गते बिहिवारका दिनबाट अर्गनाइजेसनले WDB कार्यक्रमको सुरुवात गरेको थियो । कार्यक्रमकाे पहिलो एपिसोडमा विधु कायस्थको अन्तरवार्ता लिइएको थियो ।
Categorized in समाज