arin enterprises

सुकचको छायाङ्कन प्रशिक्षण शुरु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ फाल्गुण १६, मंगलबार

सुनुवार कलाकार तथा चलचित्रकर्मी समाज (सुकच) को आयोजनामा काठमाडौंमा एक हप्ते चलचित्र छायाङ्कन प्रशिक्षण सुरु भएको छ ।

फागुन १४ गतेबाट २० गतेसम्ह हुने प्रशिक्षणको आइतवार कोटेश्वरस्थित सुनुवार सेवा समाज कार्यालयको सभा हलमा समुद्घाटन गरियो ।

आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राई, नेवाः फिल्म सोसाईटीका अध्यक्ष बिराजकाजी राजोपाध्याय, किरात राई चलचित्रकर्मी संघका अध्यक्ष केशव राई, चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्ध्दन समितिका संयोजक अमृत सुनुवार लगायतको उपस्थितीमा सुकचका कार्यवाहक अध्यक्ष लक्ष्मी सुनुवारले प्रशिक्षण कार्यक्रमको सुरुवात गरिन् ।

कार्यक्रममा बोल्दै जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले एउटा समुदायले निर्माण गरेको चलचित्र अन्य समुदायले पनि हेर्नुपर्नेमा जोड दिँदै समस्त आदिवासी जनजाति समुदाय एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

२०४४ सालमा नेपालभाषाको चलचित्र ‘सिलु’ बाट मातृभाषा चलचित्रको निर्माण सुरु भएको ईतिहास कोट्याउँदै अध्यक्ष राईले विगतमा गर्दै आएको मातृभाषी चलचित्रको अभिलेखीकणलाई अब प्राज्ञिक तहबाट अगाडी बढाउने उद्घोष गरे ।

‘मातृभाषामा कति चलचित्र बने, कुन् कुन् मातृभाषी चलचित्रकर्मीले के कति योगदान दिए, त्यसको अभिलेख त राख्नैपर्छ । साथमा अब हामी आदिवासी जनजाति चलचित्र प्रज्ञा प्रतिष्ठान गठन गरेर प्राज्ञिक तहबाट अघि बढ्ने योजनामा अघि बढेका छौं’ अध्यक्ष राईले भने ।

साथमा महासंघको भवन निर्माण, मातृभाषी चलचित्रकर्मीको लागि कल्याणकारी अक्षय कोष निर्माणलगायतका काम अगाडी बढाउने पनि राईले घोषणा गरे ।

विकास बोर्ड अन्तर्गतको मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक अमृत सुनुवारले थोरै संख्यामा रहेका सुनुवार समुदाय पनि अब चलचित्र क्षेत्रमा सशक्त ढङ्गले अगाडी बढ्न थालेको भन्दै खुसी व्यक्त गरे ।

शुभकामना दिँदै संयोजक सुनुवारले भने, ‘तालीम, कार्यशाला लगायतका कार्यक्रमबाट सीप विकास गर्दै चलचित्र क्षेत्रमा सुनुवार समुदायले पनि प्रभावकारी स्थान बनाउन सकोस्, यसमा मेरो व्यक्तिगत साथै समितिको तर्फबाट पनि सक्दो सहयोग रहनेछ ।’

नेवाः फिल्म सोसाइटीका अध्यक्ष बिराजकाजी राजोपाध्यायले आदिवासी जनजाति चलचित्रकर्मीले चलचित्र निर्माण पक्षमा मात्र ध्यान दिएर नपुग्ने तर, पहिचान र अधिकारको संघर्षमा समेत निरन्तर लागिरहनुपर्ने विचार राखे ।

किराँत राई चलचित्रकर्मी संघका अध्यक्ष केशव राईले आदिवासी जनजातिको संस्कृति, संस्कारलगायतका पहिचान झल्किने गरी छायाङ्कनमा ध्यान दिनुपर्ने सुझाव राखे ।

कार्यक्रममा महासंघका महासचिव सिजिका माझी, सुनुवार विद्यार्थी समाजकी अध्यष मनिषा सुनुवार, कोषाध्यक्ष नवीन सुनुवारलगायतले आआफ्ना विचार राखेका थिए ।

Categorized in पेजथ्री