arin enterprises

के हो मंकीपक्स ? कसरी सर्छ ?

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ १५, आइतबार

कोभिड–१९ संक्रमणको जोखिमबाट मुक्त हुन नपाउँदै अर्को एक नयाँ भाइरसले विश्वलाई सताउन थालेको छ । दुर्लभ मानिएको मंकीपक्स संक्रमण पछिल्लो समय विश्वका विभिन्न देशमा देखिन थालेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसलाई स्मलपक्स (विफर) कै एक प्रजाति भएको तर, स्मलपक्सको तुलनामा कम गम्भीर हुने बताएको छ ।

विश्वमा फैलिरहेको मंकीपक्स नेपालमा पनि भित्रिन सक्ने भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।

के हो मंकीपक्स ?

मंकीपक्स भाइरसको संक्रमणबाट हुने एक दुर्लभ र आमरुपमा हल्का खालको संक्रमण हो यो । यो भाईरस अफ्रिकाको घना जंगलमा बस्ने बाँदर, मुसा लोखर्केजस्ता जनावरहरूबाट मानसिमा सर्ने उच्च सम्भावना रहन्छ ।

यो भाइरस पहिलोपटक पश्चिम अफ्रिकाका दुर्गम भेगमा सन् १९५८ मा बन्दी बाँदरमा भेटिएको थियो । मानिसमा भने पहिलोपटक सन् १९७० मा कंगोमा देखिएको थियो ।

सन् २०१७ मा नाइजेरियासहित अफ्रिकाका १० देशमा मंकीपक्स संक्रमण देखिएको थियो । नाइजेरियामा संक्रमणको आशंका गरिएका एक सय ७२ मध्ये ६१ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमितमध्ये एकचौथाइ २१ देखि ४० वर्ष उमेर समूहका पुरुष थिए ।

लक्षणहरु के–के हुन् ?

मंकीपक्स संक्रमण भएपछि सुरुवाती चरणमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, शरीर सुन्निने र ढाड दुख्ने जस्तो लक्षण देखापर्छ ।

संक्रमितमा ज्वरो देखा परेको एकदेखि तीन दिनपछि शरीरमा डाबर देखिन थाल्छ । मंकीपक्स संक्रमणबाट हुने डाबर पहिला अनुहारमा देखिन्छ ।

त्यसपछि विस्तारै शरीरका विभिन्न भागहरूमा फैलिन्छ । पछि हुँदै उक्त डाबर फोकामा परिणत हुँदै पाप्रा लागेर उप्किन्छ ।

त्यसपछि टाउको, ढाड, मांसपेशी दुख्नुका साथै शरीरका ग्रन्थीहरु बढ्ने गर्छ । यी लक्षणहरु १४ देखि २८ दिनसम्म रहनसक्छ भने सामान्यतया आफै हराउँछ ।

 

कसरी फैलिन्छ ?

मंकीपक्स भाइरस संक्रमित व्यक्ति वा पशुको थुक, र्‍याल, घाउ खटिरा, शरीरबाट निस्कने तरल पदार्थ र दूषित सतह र सामाग्रीबाट सर्न सक्छ ।

यो भाइरस सामान्यतया छाला, श्वासनली वा आँखा, नाक, मुख र काटिएको वा फुटेको छालाबाट शरीरमा प्रवेश गर्छ । साथै बाँदर, मुसा, लोखर्केलगायतका जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट पनि यो भाइरस फैलिन सक्छ ।

मंकीपक्सका सम्भावित जटिलता के हो ?

यो रोग बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई धेरै जटिल हुनसक्छ ।

यसको कारण आँखामा संक्रमण र दृष्टि गुम्ने  सम्मकै समस्या हुन सक्छ ।

मस्तिष्क ज्वरो, निमोनिया, अन्य जीवाणुको संक्रमण, गर्भ खेर जानुका साथै मृत्यु पनि हुन सक्छ ।

रोकथामका उपायहरु के–के हुन् ?

अहिलेसम्म मंकीपक्सका लागि कुनै छुट्टै वा विशेष उपचार उपलब्ध छैन ।डब्लुएचओका अनुसार गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच कम भएको मध्य अफ्रिकाजस्तो क्षेत्रमा यो रोगबाट संक्रमित १० जनामध्ये एक जनाको ज्यान जान सक्छ ।

यद्यपि धेरैजसो बिरामी केही सातामै ठीक हुन्छन् । यो रोग लागेपछि बिरामीका लागि विशेष रेखदेखको आवश्यकता हुन्छ ।

निम्न कुराबाट यो रोगको रोकथाम गर्न सकिन्छ :-

  • मंकीपक्सको शंका वा पुष्टि भएको व्यक्तिसँग असुरक्षित सम्पर्कमा नजाने ।
  • संक्रमित व्यक्तिलाई घरमा वा अस्पतालमा आइसोलेसनमा राख्ने ।
  • संक्रमित व्यक्तिको हेरचाह गर्नेले पिपीई (व्यक्तिगत सुरक्षा सामग्री) लगाउने ।
  • घाउसँग प्रत्यक्ष सम्र्पक हुन्छ भने पञ्जा लगाउने ।
  • नियमित रुपमा साबुन पानीले हात धुने ।
  • बिरामी वा मृतक जनावरको सम्पर्कमा नजाने ।
  • संक्रमित व्यक्तिका लुगा, रुमाल, ओछ्यान र भाँडाकुडाहरु तातो पानी वा डिटर्जेन्टले धुने ।
  • संक्रमितको सम्पर्कमा आएको सतह र स्थान निसंक्रमण गर्ने ।
  • मासुजन्य खानेकुरा राम्ररी पकाएर मात्र खाने ।
  • फोहोरलाई उचित स्थानमा मात्र फाल्ने ।

हाल विश्वमा फैलिरहेको मंकीपक्सबाट नेपालमा पनि खतरा हुनसक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंकीपक्सको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाई र क्वारेन्टाइनमा बस्ने कुरालाई ध्यान दिनुपर्ने बताएको छ ।

साथै विदेशबाट आउने नेपाली र विदेशी नागरिकले कम्तिमा दुई हप्ता अनिवार्य क्वारेन्टाइनमा बस्ने, सकेसम्म कुनै पनि बाहिरी सामानहरू नछुने र छोइहाले साबुनपानीले तत्काल हात धोइहाल्न जोड दिएको छ ।

यति कुरामा ध्यान दिन सकेमा मंकीपक्स संक्रमणले नेपाललाई कोभिड १९ संक्रमणले जस्तो दुःख नदेला कि ! चाडपर्व, उत्सव वा कुनै पनि खुसीयालि भर्च्युअल नभई भौतिक रुपमै सँगै बसेर मनाइरहन पाउँछौं कि !

Categorized in समाज