के भइरहेको छ त अग्निशालाको दुर्लभ वरुण बृक्ष संरक्षका लागि ?
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०८१ श्रावण १, मंगलबार

विश्वासमै अडेको छ यो संसार । विश्वासकै भरमा टिकेको छ यो समाज । धर्म, भगवान, आशिर्वाद, वरदान, माया, प्रेम । यो सबै पनि विश्वास नै त हो । नभए नाङ्गो आँखाले यस्ता भावना वा विश्वासलाई कसले पो देखेको छ र ?
यस्तै एउटा विश्वाससँग जोडिएको वस्तु हो वरुण बृक्ष ।
ललितपुरको अग्निशाला परिसरमा रहेको वरुण बृक्ष कुनै साधारण बृक्ष होइन । यो बृक्षसँग धार्मिक विश्वास र आस्था जोडिएको छ । मान्नेहरुको लागि यो बृक्ष भगवान, नमान्ने भए त रुख वा काठ बाहेक केही होइन ।
निकै दुर्लभ मानिएको यो बृक्ष नेपाल भरीमै जहाँतहीँ पाउन वा देख्न सकिन्न । ललितपुरको अग्निशालामा यहि वरुण बृक्षको पूजा र दर्शन गर्न टाढा टाढाबाट समेत मान्छेहरु आउने गर्छन् ।
यसरी समाजको धार्मिक विश्वाससँग जोडिएको यो वरुण बृक्षको हाँगा गत असार १५ गते शुक्रबारको राती भाँच्चिएर खसेपछि यसबारे विभिन्न टीकाटीप्पणीहरु भइरहेका छन् ।
यो वरुण बृक्षको इतिहास, यसको धार्मिक, सांस्कृतिक महत्व, यसको संरक्षणमा भएका प्रयास, भावी योजना आदि के रहेका छन् त । एक पटक चर्चा गरौं न त ।
वरुण बृक्षको इतिहासः
वरुण बृक्षको इतिहास पनि अग्निशालाको इतिहाससँगै जोडिएको छ । यो बृक्ष र अग्निशालाको इतिहास करीब ५ हजार वर्ष पुरानो मानिएको छ ।
अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष निगेन्द्रराज शर्मा आफ्ना पुर्खाहरुबाट यसको इतिहास ४/५ हजार पुरानो भनी सुन्दै आएको बताउँछन् ।
‘पुर्वजबाट सुन्दै आए अनुसार यो बृक्ष र अग्निशालाको इतिहास करीब ५ हजार वर्ष पुरानो छ । प्रयोगशालामै परिक्षण त गरिएको भने छैन, पुस्तान्तरण हुँदै आएको कथनले भने यहि भन्छ’ अध्यक्ष शर्मा बताउँछन् ।
यो वरुण बृक्ष र अग्निशालाको स्थापनाको विषयमा एउटा किम्वदन्ति स्थानीय समाजमा प्रचलित छ ।
काठमाडौं उपत्यका पुरै दहको रुपमा रहेको कुरा इतिहासविद्हरु पनि स्वीकार्छन् । भूगर्भविद्हरुको अध्ययनले पनि काठमाडौं उपत्यका पहिले दहको रुपमा रहेको देखाएको छ ।
यहाँ जमेको पानी मन्जुश्रीले चोभारको गल्छि काटी बाहिर पठाए र पानी बाहिर गएर यहाँको मलिलो माटो वस्ती योग्य भएपछि विभिन्न स्थानबाट विभिन्न समुदाय आइ यहाँ बसोबास गरे भनेर स्वयम्भु पुराणमा उल्लेख गरिएको छ ।
वैष्णव मत अनुसार श्रीकृष्ण भगवान आफ्ना ग्वाला साथीहरुसँग यहाँ आए र आफ्नो सुदर्शन चक्रले पहाड काटेर यहाँको पानी बाहिर पठाए र ग्वाला वा गोपाली साथीहरुलाई यहिँ राजकाज समेत चलाउन दिइ बसोबास गराए ।
जे होस्, कुनै बेला यहाँ पानी जमेको ठाउँ थियो र पानी बाहिर गएपछि विस्तारै यहाँ बस्ती बन्दै एउटा सभ्यताकै विकास हुन गएको पक्कै हो ।
समयको कुनै कालखण्डमा यहाँ पानी सुकिसकेको अवस्थामा दक्षिण भारतबाट ६ जना ब्राह्मण आएका थिए रे । लौरो टेक्दै घुम्दै आउँदा ती ब्राह्मणहरु हालको अग्निशाला भएको स्थानमा पुगे ।
रात ढलिसकेको अवस्थामा ती ब्राह्मणहरु त्यहिँ बास बसे । सुत्नु अघि आफुहरुले टेकेर आएको लौरो त्यहिँको मलिलो माटोमा गाडेछन् ।
विद्याधर गाःबहाल नजिकै रहेको महाद्यःननिमा बसे भने यशोधर बौद्ध धर्म अँगाल्दै हालको बूबहालमा बसे
भोलिपल्ट विहान ब्युँझिएर हेर्दा त लौरोमा टुसा पलाइरहेको थियो । यो देखेपछि यहाँको माटो निकै पवित्र रहेछ, यो भूमि निकै पावन रहेछ भनी ती ब्राह्मणहरुले आफ्नो नित्य सन्ध्या, तर्पण, यज्ञ, जप, तप गर्नको लागि त्यहाँ अग्नि स्थापना गरे ।
त्यहि अग्नि आजको दिनमा अग्निशालाको रुपमा विकास भएको मानिन्छ र त्यहि लौरो आजको दिनमा वरुण बृक्ष बनेको विश्वास रहेको छ ।
यो सँगै अर्को एउटा किम्वदन्ति समाजमा प्रचलित छ ।
तत्कालीन विशालनगरमा ठुलो आगलागी भएर पुरै राज्य तहसनहस भयो । त्यहाँ रहेका सबै बासिन्दाहरु आगोसँग बच्दै नगर छोडेर अन्त अन्तै भागे ।
त्यहि क्रममा दुई ब्राह्मण दाजुभाई विद्याधर र यशोधर पाटन पुगे । विद्याधर गाःबहाल नजिकै रहेको महाद्यःननिमा बसे भने यशोधर बौद्ध धर्म अँगाल्दै हालको बूबहालमा बसे ।
विद्याधरले आफुले टेकेर आएको लौरो हालको अग्निशालाको माटोमा गाडे भने यशोधरले हालको बूबहाल अथवा यशोधर महाविहारको भूमिमा गाडे । ती दुबै लौरोमा टुसा पलायो र कालान्तरमा ती दुइटै लौरो बृक्षको रुपमा परिणत भयो ।
अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष शर्मा भने विशालनगरको यो कुरा मान्न तयार छैनन् ।
वरुण बृक्षको इतिहास विशालनगर आगलागी भन्दा पुरानो भएको उनको तर्क छ । साथमा वरुण बृक्ष नेपालमै दुर्लभ भएको हिसाबले पनि यसको सम्वन्ध विशालनगरसँग जोड्न नसकिने उनी बताउँछन् ।
‘एक त विशालनगरको इतिहास भन्दा अग्निशालाको इतिहास पुरानो हो । त्यसमा पनि यसको इतिहास विशालनगरसँग सम्वन्धित भए वरुण बृक्ष नेपालमै जहाँतहिँ पाउनुपर्ने होइन र ? किन दुर्लभ भयो त ?’ शर्मा तर्क गर्छन् ।
वरुण बृक्ष दक्षिण भारतमा बढि पाइनु र नेपालमा दुर्लभ भएको अवस्थाले पनि दक्षिण भारतबाट आएका ब्राह्मणहरुले नै यो बृक्ष ल्याएको कुरामा बल पुग्ने शर्मा बताउँछन् ।
वरुण बृक्ष भाँच्चियोः
ललितपुर महानगरपालिका वडा नम्बर १९ मा अग्निशाला मठ रहेको छ । स्थानीय नेपालभाषामा यसलाई अगिंमथः भन्ने गरिएको छ । अग्निको मठ भएकोले यसलाई अग्निमठ भन्दै अगिंमथः भएको भनाई पनि छ ।
यस अग्निशालाको परिसरमा रहेको वरुण बुक्ष फैलिएर अग्निशाला बाहिर रहेको बाटो काट्दै अग्निशाला अगाडी रहेको घरसम्म पुगेको छ ।
गत असार १५ गते शुक्रबार राती अग्निशालाबाट निस्की बाटोको बीचबाट गइरहेको रुख भाँच्चिएको थियो । अग्निशालाको अगाडी रहेको राजु महर्जनको घरको कम्पाउन्डमा पनि रुख भाँच्चिएको देखिएको थियो ।
रुखको हाँगा खसेर त्यहिँ पार्किङमा रहेको एउटा गाडीमा समेत परेको अध्यक्ष शर्माले बताए ।
१५ गते राती यसरी रूख भाँच्चिएपछि १६ गते नै ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जन, प्रदेश सांसद रामकृष्ण चित्रकार, पुर्व मन्त्री विराज बिष्ट, १९ वडाध्यक्ष राजेन्द्र महर्जनबाट अग्निशाला पुगी निरिक्षण भएको थियो ।
‘वन विभागको स्वीकृति विना कुनै पनि रुख काट्न पाइन्न भन्ने छ । यो रुख त काटेको नभई प्राकृतिक रुपमा ढलेको हो । १९ वडा कार्यालय र अग्निशाला व्यवस्थापन समितिबाट संयुक्त रुपमा वन विभागलाई निवेदन दिई यसबारे जानकारी गराएका छौं’ शर्माले जानकारी दिए ।
वरुण बृक्ष यसरी भाँच्चिनु राम्रो संकेत नभएको र यो कुनै अशुभको संकेत हो भनी बुढापाकाहरु भन्छन् । त्यसै कारणले १७ गते नै क्षमापूजा पनि सम्पन्न गरिएको शर्माले जानकारी दिए ।
वन विभाग, ललितपुर महानगरपालिकाको नगर प्रहरी मिलेर रुखको टुक्रालाई व्यवस्थापन गर्ने कुरा भएको शर्माले बताए ।
गत असार २२ गते शनिबार ललितपुर महानगरबाट नगर प्रहरीको टोली आई रुखमा जोखिम देखिएको टुक्रा काट्नुका साथै, भाँच्चिएको टुक्राहरु सबै व्यवस्थापन गरेको थियो ।
संरक्षणका लागि भएका प्रयासहरुः
वरुण बृक्ष संरक्षणका लागि आफुहरुले प्रयास गर्दै आएको अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष शर्माले बताए । वनस्पति विज्ञ पुष्पमान अमात्यको राय अनुसार यो वृक्षको आयू नै सकिसकेको उनले बताए ।
शर्माका अनुसार गत वर्ष नै त्यो रुखका हाँगाहरु सुकिसकेको अवस्था थियो ।
‘अग्निशाला परिसरमै रहेको अग्निहोत्री निवासको कौसीबाट हेर्दा वरुण बृक्षको जुन अवस्था देखियो, त्यसले मन नै छिया छिया बनाएको थियो । त्यसपछि हामीले यसको संरक्षणका लागि विभिन्न प्रयास पनि गरेको हो’ शर्मा भन्छन् ।
पाटन तुइलाक्व निवासी रविश्याम शर्मालाई बोटविरुवा सम्वन्धि ज्ञान छ भन्ने थाहा पाई उनलाई बोलाएर रुखको कलम काटेर रोपेको तर, त्यो प्रयास सफल हुन नसकेको शर्माले भने ।
‘यो रुख, जरा वा बीउ रोपेको नभई लौरो गाडेको र त्यसैबाट रुख बनेको भन्ने छ । एउटा हिसाबले भनौं, रुखको कलम रोपेको । जसरी गुलाबको बोट कलम काटेर रोपिन्छ, त्यहि गर्न खोजेको हो तर, सफल भएन’ शर्माको भनाई हो ।
‘अग्निशालाको मुख्य अस्तित्व नै वरुण बृक्ष हो र अहिले यसको अस्तित्व नै समाप्त हुने डर छ । भोलिको पुस्ताले पनि वरुण बृक्ष हेर्न पाउनुपर्छ भनेर यसको संरक्षणका लागि हामीले परियोजना नै संचालन गरेका छौं’
केही दिन अघि मात्रै पनि रविश्याम शर्मालाई नै बोलाएर जरा खुर्केर कम्पोस्ट मल आदि राखेको र यसको नतिजा के कति सफल होला हेर्न बाँकि नै रहेको शर्माको भनाई छ ।
विज्ञहरुका अनुसार समय समयमा सुकेर गएका जराहरुलाई काट्नुपर्छ । वरुण बृक्ष पर्यो धार्मिक आस्थासँग जोडिएको र धार्मिक मान्यता अनुसार भने त्यसरी काट्न नहुने मान्यता छ ।
केही भएर काट्नैपर्ने अवस्थामा पनि क्षमा पूजा गर्नुपर्ने, धार्मिक विधिविधान पूरा गर्नुपर्ने नियम छ । यस्तो अवस्थाले गर्दा पनि कतिपय कामहरु गर्न नमिलेको गर्न नसकिएको शर्माले बताए ।
मातृ बिरुवा (मदर प्लान्ट) बाट तल सानो सानो विरुवाहरु आइरहेको र त्यसको संरक्षण पनि गर्न नसकिरहेको शर्माले सुनाए ।
‘मदर प्लान्टको जराबाट यसरी ससाना विरुवा आउने हो । खइ, वरुण बृक्षमा आएका यस्ता विरुवाले तल माटो लिन नसकेको हो, फैलिन नसकेको हो वा अहिलेको वातावरण मिलेनछ, ती बिरुवाहरु बढ्न सकेन’ शर्माले भने ।
संरक्षणका लागि भावी योजनाः वरुण बृक्ष नेपालमै दुर्लभ मानिएको छ । यसको संरक्षणको काममा आफुहरु दत्तचित्त भई लागिरहेको अग्निशाला व्यवस्थापन समितिका अध्यक्ष शर्मा दावी गर्छन् ।
‘अग्निशालाको मुख्य अस्तित्व नै वरुण बृक्ष हो र अहिले यसको अस्तित्व नै समाप्त हुने डर छ । भोलिको पुस्ताले पनि वरुण बृक्ष हेर्न पाउनुपर्छ भनेर यसको संरक्षणका लागि हामीले परियोजना नै संचालन गरेका छौं’ शर्माले भने ।
गत वर्ष सम्पन्न भएको अग्निशाला व्यवस्थापन समितिको साधारण सभामा यो बृक्ष संरक्षणको लागि परियोजना प्रस्ताव पनि पारित गरिसकेको शर्माले जानकारी दिए ।
अग्निशाला व्यवस्थापन समितिबाट वनस्पति विज्ञहरुको एउटा गोष्ठी नै गर्ने योजना बनाएको शर्मा बताउँछन् । गोष्ठीको लागि जापानबाटै वनस्पततिविद्हरु बोलाउनको लागि पुर्वमन्त्री विराज बिष्टसँग छलफल भइरहेको शर्माले जानकारी दिए ।
‘पूर्वमन्त्री विष्ट जापानबाट वनस्पति विज्ञान नै पढेर आउनुभएकोले उहाँको उतातिर सम्वन्ध पनि छ र वनस्पति क्षेत्रको ज्ञान पनि छ । जापानबाट विज्ञहरु झिकाएर अन्तर्राष्ट्रिय स्तरकै एउटा गोष्ठी गर्ने विचारमा छौं । हेरौं, गोष्ठीले के निचोड निकाल्छ’ शर्माले योजना सुनाए ।
गोष्ठीबाट अहिले देखिएका समस्याको समाधान भेटिनुका साथै वरुण बृक्षको दीगो संरक्षणको मार्ग पहिल्याउन सहयोग हुनेमा शर्मा आशावादी छन् ।
Categorized in समाज