arin enterprises

“येँ देय् म्हसीके” अनुगमन खोई ?

SamacharDesk – राम डंगोल | २०७९ श्रावण १६, सोमबार

विद्यालयहरुमा नयाँ सत्र प्रारम्भ भएसँगै यस वर्ष पनि स्थानीय पाठ्यक्रम अन्तर्गत ‘येँ देय् म्हसीके’ पाठ्यपुस्तकको पठनपाठन सुरु भइसकेको छ ।

गत वर्षदेखि महानगरपालिकाले अनिवार्य रुपमा निजी तथा सरकार विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अन्तर्गत नेपालभाषा माध्यमबाट “येँ देय् म्हसीके” पाठ्यपुस्तक पठनपाठनमा ल्याएको थियो । नेपालमा मातृभाषाको रुपमा जम्मा १२३ भाषाहरु रहेका छन् ।

तीमध्ये कतिपय भाषाहरु लोप नै पनि भइसकेका होलान् त कति लोपोन्मुख अवस्थामा छन् । मातृभाषालाई सरकारी कामकाजी भाषाको रुपमा मान्यता नपाउनु, कुनै समयमा त भाषामाथि बन्देज नै लाग्नुदेखि लिएर विद्यालयमा मातृभाषा माध्यबाट पढ्न नपाइनुका साथै एउटै मात्र भाषा अनिवार्य बनाइनु भाषा लोप हुनुमा विभिन्न कारणहरु हुन् ।

मातृभाषा लोप हुनु भनेको सम्वन्धित समुदायको धर्म, संस्कृति, संस्कारसम्म पनि लोप हुनु हो । समुदायको धर्म, संस्कृति, रहनसहनसँग मातृभाषा पनि जोडिएको हुन्छ ।

विदेशीहरु नेपालमा यहाँको धर्म, संस्कृति, रीतिरिवाज आदि हेर्नको लागि पर्यटकको रुपमा नेपाल भित्रिने हो । न कि यहाँको कंक्रिटको विकास हेर्न । तसर्थ देशको विकास र समृद्धिसम्म पन िस्थानीय भाषा र संस्कृतिसँग जोडिएको भन्दा फरक नपर्ला ।

स्थानीय भाषाको यस्तै महत्त्वलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले गत वर्षदेखि स्थानीय पाठ्यक्रमलाई काठमाडौं महानगरको स्थानीय मातृभाषा नेपालभाषा माध्यमबाट “येँ देय् म्हसीके” पाठ्यपुस्तक लागू गरेको थियो । स्थानीय मातृभाषा र संस्कृतिको संरक्षणको पक्षमा यसलाई स्थानीय सरकारको राम्रो कदम मान्न सकिन्छ ।

महानगरपालिकाले गत वर्षबाट स्थानीय पाठ्यक्रम लागू गरी, त्यसको पठनपाठनका लागि तालिम तथा प्रशिक्षण दिई आवश्यक जनशक्तिसमेत तयार गरेको थियो । 

तर निजी विद्यालयहरुमा एकाध बाहेक प्राय विद्यालयहरुले यस विषयलाई मात्र औपचारिकताको रुपमा लिएको देखिन्छ । प्राय निजी विद्यालयहरुमा स्थानीय पाठ्यपुस्तक पढाउनका लागि छुट्टै शिक्षक वा शिक्षिका राखेको देखिँदैन ।

आफ्नै विद्यालयमा उपलब्ध नेवार शिक्षक शिक्षिकालाई नै स्थानीय विषयको पनि भार थपिदिने गरेको पाइएको छ । चाहे, त्यो शिक्षक उक्त विषयमा दख्खल भएको होस् वा नहोस् । ती शिक्षक÷शिक्षिकाहरुलाई सामान्य तालिम तथा प्रतिक्षण पनि दिइएको छैन । तैपनि आफ्नै बुद्धिविवेकले भ्याएसम्म पढाउनुपर्ने बाध्यता रहेको छ ।

एक निजी विद्यालयकी शिक्षिकाले विद्यालयका प्रधानाध्यापकले नै परिक्षाको लागि रटाएर पढाए पुग्छ सिकाउ, परिक्षामा पनि सजिलो अब्जेटिक प्रश्नहरु मात्र देउ भनेको बताइन् ।

‘तिमीहरुलाई राम्ररी आउँदैन, विद्यार्थीले पढेर के बुझ्लान र, धेरै मिहिनेत गरिराख्नुपर्दैन, जाँचमा पास मात्र गर्ने हिसाबले लिनुस् भनेर प्रधानाध्यापकले नै भन्नुहुन्छ, म त एकजना साधारण टिचरमात्र परें, म एक्लैले के गर्न सक्छु र ?’ उनले भनिन् ।

त्यस्तै अर्का एक निजी विद्यालयका शिक्षकले हप्ताको एक दिन मात्र स्थानीय विषयको क्लास हुने र त्यो पनि विभिन्न वहानामा अवरुद्ध भइरहने बताए ।

‘कहिले बच्चाहरुको कम्प्युटरको प्राक्टिलक क्लास, कहिले युनिट टेस्ट, कहिले बच्चाहरुको फिल्ड भिजिट । अझ इन्चार्जले सोझै अरु क्लासहरु महत्त्वपूर्ण छन्, डिस्टर्ब गर्नुहुन्न, तपाईँको क्लासमा मिलाउँ है भन्न आउँछ । के गर्ने ?’ उनले भने । 

न्यू जेनिथ ईंग्लिस स्कूलका शिक्षक बिराजकाजी राजोपाध्यायका अनुसार किताबी रटानभन्दा व्यवहारिक पढाईमा विद्यार्थीहरु उत्साहित हुने गर्छन् । येँ देय् म्हसीकेमा काठमाडौंका संस्कृतिहरु बारे पढाउँदा त्यस संस्कृतिसँग जोडिएका लोक कथाहरु सुन्न विद्यार्थीहरु रोमान्चित हुने गर्छन् ।

यसबाट के बुझ्न सकिन्छ भने विद्यार्थीहरु स्थानीय विषय पनि पढ्न रुचाउँछन् । पढाउने भन्दा नि अन्तरक्रियात्मक, व्यवहारिक अभ्यासलाई जोड दिइएमा यसका विषयवस्तुहरुलाई पनि प्रभावकारी ढङ्गले विद्यार्थीहरुलाई बुझाउन सकिन्छ । तर विद्यालय प्रशासनले नै यसमा रुचि राख्दैनन् र औपचारिकताको रुपमा मात्र बुझ्छन् भने मात्र किताब रटाएर केही हुने वाला छैन ।

नेपालको सांस्कृतिक, सामाजिक, धार्मिक पहिचान जोगाउने हो भने यसले देशको अािथृक समृद्धिमा समेत टेवा दिन सक्छ । र यसको लागि स्थानीय मातृभाषाको भूमिका पनि उत्तिकै रहन्छ । काठमाडौं महानगरको धर्म, संस्कृति, संस्कारसँग जोडिएको यहाँको स्थानीय मातृभाषा पनि संरक्षण हुनुपर्छ ।

यसको लागि स्थानीय मातृभाषामै स्थानीय पाठ्यक्रम लागू भएकोमा यसलाई बाध्यता वा औपचारिकता मात्र ठान्ने हो भने यो ठुलो भुल हुनेछ । स्थानीय विषय यदि महत्वपूर्ण हो, यसले साँच्चिकैमा केही अर्थ बोकेकै हो भने यसलाई शैक्षिक सत्रमा समावेश मात्र गरेर पुग्दैन ।

त्यसलाई व्यवस्थित र प्रभावकारी रुपले अघि बढाउन स्पष्ट दृष्टिकोण र योजनाहरु हुनुपर्यो । यो विषय पठनपाठन गराउने शिक्षक शिक्षिकालाई पनि समयसापेक्ष प्रशिक्षण तथा तालिमहरुको आयोजना नियमित हुनुपर्यो । साथमा महानगरपालिकाबाट पनि समय समयमा छड्के जाँच, अनुगमन हुनु आवश्यक छ ।

यस विषयमा काठमाडौं महानगरपालिकामा नवनिर्वाचित मेयर बालेन्द्र शाहले आफ्नो कार्यकालमा यो विषयलाई अझ व्यवस्थित बनाउने र कुनै हालतमा पनि यो विषयलाई हटाउनुको त के कुरा, ऐच्छिक सम्म पनि नबनाउने बताइसकेका छन् ।

त्यसैले यसलाई विद्यालयहरुले पनि मात्र औपचारिकताको रुपबाट मात्र नलिइ प्रभावकारी ढङ्गबाट पठनपाठन गराउनुको विकल्प छैन ।

निजी विद्यालयहरु तथा येँ देय् म्हसीकेको पठनपाठन शुरु गरीनसकेका विद्यालयहरुले पनि अरु विषय जस्तै यस विषयलाई पनि प्राथमिकतामा राखी पठनपाठन गराउन जरुरी छ ।

 

Categorized in बिचार