arin enterprises

सबै नेताहरु मिलेर आर्यघाटमा मुन्तशीरको पुतला किन नजलाउने ?

SamacharDesk – डा. रोशन श्रेष्ठ | २०८० आषाढ ९, शनिबार

ग्रेटर गोर्खा नक्सा प्रदर्शन र फिल्मी डायलग काण्ड मच्चाएर बालेनले बच्कानापन देखाए, हामीले नि उसलाइ उल्यायौं । पहिला पनि भनेकै हो – बच्कानापन जति धेरै देखायो, उति हाम्रै साख गिर्ने हो भनेर ।

डायलग नै छैन रहेछ भन्ने प्रमाणित भएपछि बालेन साहको बेलुनबाट हावा फुस्स फुस्किएर बिजोग भो ।

त्यहि लहरो तानिँदै गएपछि मनोज मुन्तशिर नाउँ गरेका एक पटमुर्खले आजतक कार्यक्रममा सार्‍है आपत्तिजनक कुरा बोले । उनले भने नेपाल सन १९०३–४ अघिसम्म भारतकै भू–भाग थियो ।

त्यो गलत इतिहास बक्ने पटमुर्खको नाउँ त्यस अघि कहिल्यै नसुनेपनि अब त्यो नाउँ नेपालमा चीरपरीचित भयो ।

मेरो माग छ,

मनोज मुन्तशिरलाइ भिलेन घोषणा गरी पशुपति आर्यघाटमा तिनको पुतला जलाउने कार्यक्रम बालेन –प्रचण्ड – खड्ग ओली – रवि – हर्क – माधव नेपाल – देउवा – रामचन्द्र – शशांक – शेखर – गगन लगायत सबै मिलेर संयुक्त घोषणा गर्नुपर्छ ।

मनोज मुन्तशीर र उनको परीवारलाइ आजीवन नेपाल प्रवेश निषेधको घोषणा गर्नुपर्छ । नेपाल, भारत लगायत अन्तर्राष्ट्रीय मिडियामा मनोज मुन्तशिर पुतला–दहन कार्य पशुपति आर्यघाटबाट प्रत्यक्ष प्रसारण गर्नुपर्छ ।

मनोज मुन्तशिरसित अन्तर्वार्ता प्रसारण गर्ने टिभि कार्यक्रम तथा च्यानलले पनि सार्वजनिक माफि माग्नुपर्छ ।

त्यो पटमुर्ख मुन्तशिरलाइ कारिन्दा, सल्लाहकार, सहयोगी बनाउने भारतीय नेताहरु सबै (मोदी लगायत सबै) ले मुन्तशिरको भनाइ खारेज गरेको सार्वजनिक वक्तव्य आउनुपर्छ ।

नठान्नुस कि यो बहुलट्ठीपूर्ण माग हो । जुन दिन मनोज मुन्तशिरले अन्तर्वार्ता दिए, त्यहि दिन यस्तो माग उठ्नुपर्ने हो । कसैले उठाउला नि भन्दै म चुप लागेर बसें । तर कसैले नउठाएपछि मैले यसलाइ उठाउन करै लाग्यो ।

उनीहरुको समीपमा हुँदा मैले चाल पाएको विषय के हो भने खुलस्त बताए पनि नबताए पनि उनीहरुमा एउटा सोच हावि छ ’नेपाल कुनै बेला भारतको भू–भाग थियो’

तपाइलाई प्यारो नलागे नलागोस, वास्तविकता मैले बताइदिनु नै पर्छ । भारतका सर्वसाधारण मात्र होइन, दिग्गज दिग्गज विद्वानहरुमा पनि नेपालबारे ठूलो भ्रम छ ।

भारतीय मूलका दिग्गज वैज्ञानिकहरुसित मैले पटक पटक काम गर्ने मौका पाएको छु । उनीहरुको समीपमा हुँदा मैले चाल पाएको विषय के हो भने खुलस्त बताए पनि नबताए पनि उनीहरुमा एउटा सोच हावि छ ’नेपाल कुनै बेला भारतको भू–भाग थियो’ ।

यस्तो कुरा उठेमा म तत्कालै प्रतिवाद गरीदिन्छु र एक सेसन इतिहासको पाठ नै पढाइदिएर नाजवाफ बनाइदिन्छु । कसैकसैसित यहि विषयले गर्दा ब्यक्तिगत सम्बन्ध पनि चिसिएको छ ।

उत्तेजनामा कडा शव्द प्रयोग हुन जाँदा तिनका मन दुख्दो हो । त्यसलाई मतलव नगरी सहि इतिहास बताइदिने गरेको छु ।

मैले जस्तै अनुभव गर्ने अरु हज्जारौं नेपालीहरु पनि होला । विदेशमा बसेका १००% नेपालीले गलत इतिहासको प्रतिवाद तत्कालै गर्छन्, गरीरहेका छन् ।

घोत्लिनुपर्ने त्यो भन्दा पनि मुख्य कुरो यो छ कि, ‘झूठो इतिहासमा आधारीत यस्तो सोच ती भारतीय शिक्षितहरुको दिमागमा कसरी घुस्यो?’

शंका लागेको छ, कतै भारतको विद्यालय वा महाविद्यालय स्तरीय पाठ्यक्रममै नेपाल पनि भारतको अंग थियो भन्ने आशयको शिक्षणसामाग्री पो छ कि ? यदि त्यसो होइन भने भारतीय संस्कार प्रवर्ध्दन गर्ने संरचनाहरुमार्फत यस्तो कुराहरु प्रचार भैरहेको छ कि ?

जे होस, करोडौं करोड भारतीयहरु जे सोच्छन, त्यो कुरा मनोज मुन्तशिरको वाच्यमा प्रतिध्वनित भएको छ । जुन कुरा भारतीयहरुले चलाएको अनेकौं यूट्यूब भिडियोहरुमा पनि देख्न सकिन्छ ।

त्यस्तो गलत मान्यतालाइ धुजा धुजा पार्ने हो भने यति बेला मनोज मुन्तशिरमाथि सारा देश खनिएर उनलाइ बलिको बकरा बनाइ ठूलो अभियान गर्नैपर्छ ।

त्यसो गर्न नसकिए यो मौका चुकेको हुनेछ, भारतीयहरु यो विषयमा नेपाल कति संवेदनशील छ भन्ने चाल पाउन फेरी पनि असफल हुनेछ । हामी मात्र कराएर हुँदैन ।

(यो लेख छोट्याउन चाहेको हुनाले म आज थप लेख्दिन, एक भारतीय मूलका वैज्ञानिकसित उनले ‘नेपाललाइ खुरुक्क भारतको राज्य बनाए भैहाल्थ्यो’ भनेपछि मेरो निक्कै घोरघमासान नै परेको थियो । त्यसबारे पछि कुनैबेला बताउँला)

नेताहरुले खोक्रो राष्ट्रबाद देखाएर जनता उद्वेलित बनाउने र चुनावमा भोट बटुल्ने काम मात्र गर्न भएन । बालेन होस वा ओली, राष्ट्रबादकै टेको टेकेर राजनीति गर्ने भए यो भन्दा शालिन र भव्य तरीकाले गर्न मज्जाले सकिन्छ ।

साँच्चिकै राष्ट्रबाद बढोत्तरी गर्ने हो भने नेपालको राष्ट्रीयता माथि आँच आउने सूचना स्रोतहरु ठम्याइ तिनको गर्भमा नै प्रहार गर्नुपर्छ ।

त्यो प्रहार गर्न माथि मैले उठाएको माग तपाईँहरु सबैले उठाउनु पर्छ, आ–आफ्नो वालमा शेयर गर्नुपर्छ, ब्यापक जनदवाब दिइ नेताहरुलाइ झकझकाउनु पर्छ ।

कुरा बुझौं मुसुमुसु हाँसौं ।

Categorized in बिचार