arin enterprises

‘ट्वेल्थ फेल’को नेपालमा चर्चा किन ?

SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष २०, शुक्रबार

विगत केही समयदेखि सामाजिक संजालमा बलिउड फिल्म ‘ट्वेल्थ फेल’को चर्चा भइरहेको छ । नेपाली हलमा रिलिज नै नभएपनि यो फिल्मले चर्चा भने नेपालमा पनि भइरहेको छ ।

कलाकारको बलियो लाइनअप नभएका कारण नेपाली वितरकले यो फिल्म नेपाली बजारमा भित्र्याएन । तर, यसका कथावस्तु र पात्रहरुलाई लिएर भने नेपाली समाजमा पनि खुब चर्चा भइरहेको देखिन्छ ।

भारतमा ‘ट्वेल्थ फेल’ फिल्म गत अक्टोबर २७ मा रिलिज भएको थियो । नेपालीहरुले भने एउटा युट्युब च्यानलमा अवैधानिक रुपमा अपलोड भएपछि यो फिल्म हेर्न पाएका हुन् ।

डिजेज्वाउ नाम गरेको च्यानलबाट ७ दिन अगाडि युट्युबमा यो फिल्म अपलोड भएपछि यसले शुक्रवारसम्ममा ३.३ मिलियन भ्युज कमाइसकेको छ ।

आखिर, यो फिल्मले के कारणले आजका दिनमा नेपाली युवाहरुको ध्यान तानेको छ त ?

यो फिल्मल मनोज कुमार नाम गरेका एक व्यक्तिको बायोपिक भनिएको छ । आइपीएस अफिसर्स बन्नका लागि एउटा दुर्गम गाउँबाट दिल्ली पुगेका मनोजको संघर्षको कथामा यो फिल्म आधारित छ ।

१२ कक्षामा फेल हुनुका साथै पटक–पटक आइपीएसको परीक्षामा पनि असफल हुँदा उसले गर्नुपरेको संघर्षको कथा यो फिल्ममा देखाइएको छ ।

साथै उनलाई साथ दिएकी श्रद्धा जोशीको कथा पनि यो फिल्मले बताउँछ । मनोजलाई साथ दिन वरिपरी जोडिएका श्रद्धा लगायतका पात्रले फिल्मलाई अझ बलियो बनाएको दर्शकहरुको कथन छ ।

मनोजको असफलता र संघर्षले नै यो फिल्मलाई युवा पुस्तामा लोकप्रिय बनाएको फिल्म विज्ञहरु भन्छन् ।

अनुराग पाठकको पुस्तक ‘ट्वेल्थ फेल’मा आधारित रहेर यो फिल्म तयार भएको हो । जसलाई विधु विनोद चोपडाले निर्देशन गरेका छन् ।

वास्तविक जीवनमा आधारित यो फिल्ममा मनोजको भूमिकामा विक्रान्त मेसी र श्रद्धाको भूमिकामा मेधा शंकरले अभिनय गरेका छन् ।

फिल्ममा विक्रान्तको र उनलाई साथ दिएकी मेधाको अभिनयले दर्शकको मन जित्न सफल भएको देखिएको छ ।

यो फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन १ करोडको ओपनिङ गरेको थियो । फिल्मलाई धेरैले रुचाएपछि वर्ड अफ माउथ पनि बलियो बन्यो ।

यहि कारण फिल्मले रिलिजको छैटौँ दिनमा १ करोड ८५ लाखको व्यापार गर्न सफल भयो थियो ।

फिल्मको व्यापार पहिलो साता भन्दा दोस्रो साता अझ उच्च देखियो । मुख्यकारण, यसको कथा र पात्रहरुका साथै बलियो वर्ड अफ माउथ पनि थियो ।

हलहरुमा पनि सुखद कमाई गरेको यो फिल्मलाई ओटिटीमा झनै रुचाइएको छ ।

प्रस्तुति, कथावस्तु र कलाकारको अभिनयले नै उत्कृष्ट बनाएको कारण नै ‘ट्वेल्थ फेल’ नेपाली युवाहरु माझ पनि चर्चाको विषय बनिरहेको छ ।

Categorized in पेजथ्री